दाङ । लुम्बिनी प्रदेशमा लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान शुभारम्भ गरिएको छ। अभियानको उद्घाटन गर्दै मुख्यमन्त्री चेतनारायण आचार्यले हिंसा प्रभावितलाई दोष दिने नभई साथ र सहयोग गर्ने सामाजिक वातावरण निर्माण गर्नुपर्ने बताएका छन्।
बुधबार राप्ती उपत्यका (देउखुरी) मा आयोजित कार्यक्रममा उनले पीडितको पहिचान, गोपनीयता र सम्मानको रक्षा गर्दै न्याय सुनिश्चित गर्नुपर्ने बताए।
लैंगिक हिंसा अन्त्यका लागि कानुनी व्यवस्था प्रभावकारी कार्यान्वयनसँगै सामाजिक सोच र व्यवहारमा परिवर्तन आवश्यक रहेको उनको भनाइ थियो।
प्रदेश सरकारले महिला सशक्तीकरण, आर्थिक आत्मनिर्भरता, सीप विकास तथा हिंसा प्रभावितको संरक्षण र पुनःस्थापनालाई प्राथमिकता दिएको उनले बताए।
मंसिर ९ देखि २४ गतेसम्म सञ्चालन हुने अभियानलाई औपचारिक कार्यक्रममा मात्र सीमित नगरी वर्षभरि सामाजिक जागरणका रूपमा अघि बढाउनुपर्ने मुख्यमन्त्री आचार्यले जोड दिए।
सामाजिक विकास मन्त्रालयको आयोजनामा भएको कार्यक्रम मन्त्री रामजीप्रसाद घिमिरेको अध्यक्षतामा सम्पन्न भएको थियो।
प्रतिक्रिया दिनुहोस