after_navbar

बेपत्ता रेस्टुरेन्ट सञ्चालक जंगलमा मृत फेला


१ घण्टा अगाडि


मोरङ । विराटनगरका एक रेस्टुरेन्ट सञ्चालक शनिबार मोरङको केराबारीस्थित जंगलमा मृत फेला परेका छन्।

विराटनगर महानगरपालिका-३ निवासी ५१ वर्षीय मनोज खत्री केराबारी गाउँपालिका-९ स्थित धारापानी जंगलमा रुखमा झुण्डिएको अवस्थामा फेला परेको मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक कवित कटवालले जानकारी दिए। खत्री विराटनगरस्थित पिजफायर पिजा क्याफेका सञ्चालक थिए।

प्रहरीका अनुसार खत्री शुक्रबार दिउँसो करिब १ बजे स्कुटर लिएर घरबाट निस्किएका थिए। त्यसपछि उनी परिवारको सम्पर्कमा आएका थिएनन्। शनिबार अपराह्न करिब साढे ३ बजे स्थानीयले जंगलमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। परिवारका सदस्यले पहिचान गरेपछि साँझ करिब ७ बजे उनको सनाखत भएको प्रहरीले जनाएको छ।

खत्रीले प्रयोग गरेको स्कुटर भने फेला परेको छैन। मृत्युको कारणसमेत खुल्न नसकेको र घटनाबारे विभिन्न कोणबाट अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक कटवालले बताए।

शव पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ। पोस्टमार्टम रिपोर्ट र थप अनुसन्धानपछि मृत्युको कारण खुल्ने प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

data-href="