काठमाडौँ २१ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीलाई “हिटलर” र “तानाशाह” भन्ने शब्द प्रयोग गर्दै प्रश्न सोधेका दुई पत्रकारको संघीय संसद सचिवालयले पास निलम्बन गरेको छ।
सचिवालयले संसदीय मर्यादा उल्लंघन गरेको भन्दै ‘सुनौलो नेपाल’ युट्युब च्यानलका प्रकाश ओली र ‘युवा मन नेपाल’ च्यानलका किशोरकुमार श्रेष्ठलाई एक महिनाका लागि संसद भवन प्रवेशमा रोक लगाएको हो।
गत फागुन ४ गते संसद भवन परिसरमा प्रधानमन्त्री ओलीलाई सोधिएको प्रश्नलाई लिएर सत्तारूढ नेकपा (एमाले) का सांसद सूर्य थापाले संसदमा ध्यानाकर्षण गराएपछि सचिवालयले निर्णय लिएको हो। सचिवालयका अनुसार पत्रकार आचारसंहिता विपरीत अभिव्यक्ति दिएको भन्दै उनीहरूलाई निलम्बन गरिएको हो।
स्रोतका अनुसार, किशोरकुमार श्रेष्ठ एमालेकै पूर्व वडा सदस्य उम्मेदवार हुन् भने प्रकाश ओली विद्यार्थी संगठन अनेरास्ववियुको लुम्बिनी प्रदेश कमिटी सदस्य हुन्। संसद सचिवालयले बुधबारसम्म उनीहरूको पास फिर्ता गर्न निर्देशन दिएको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस