दाङ,१६ भदौ । रुपन्देही निर्वाचन क्षेत्र नं ३ मा आगामी कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले सात जनाको नाम सिफारिस गरेको छ।
जिल्ला कमिटी रुपन्देहीको भैरहवामा बसेको बैठकले पार्टीका महासचिव तथा पूर्वकृषिमन्त्री घनश्याम भुसालसहित सात जनाको नाम अघि सारेको हो। भुसाल यसअघि २०७४ सालमा नेकपा (एमाले) बाट यसै क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए।
सिफारिसमा लुम्बिनी प्रदेश उपाध्यक्ष कमल भण्डारी, रुपन्देही जिल्ला अध्यक्ष हीराध्वज शाह, प्रदेश कमिटी सदस्य आनन्दप्रसाद गुप्ता, आशा चौधरी, थानेश्वर खरेल र रुपन्देही–१ की सह–इञ्चार्ज विजयलक्ष्मी राय परेका छन्।
जिल्लाले पठाएको नाममध्ये कार्यदलले एक महिलासहित तीनजनाको नाम छनोट गरी केन्द्रीय समितिमा पठाउनेछ। उक्त कार्यदलमा पार्टीका केन्द्रीय उपमहासचिव तथा लुम्बिनी प्रदेश इञ्चार्ज मेटमणि चौधरी, केन्द्रीय सचिव तथा प्रदेश सह–इञ्चार्ज सोमप्रसाद पाण्डे, प्रदेश अध्यक्ष अब्दुल हुसेन खाँ, रुपन्देही जिल्ला इञ्चार्ज ई. नन्दलाल बन्जाडे र जिल्ला अध्यक्ष हीराध्वज शाह रहेका छन्।
उपमहासचिव चौधरीका अनुसार कार्यदलले सबै सातै उम्मेदवारसँग छलफल गरेर चुनावी रणनीति बुझिसकेपछि मात्र तीन जनाको नाम केन्द्रीय समितिमा सिफारिस गर्ने छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस