हेमन्त प्रकाश वली, दाङ,१ जेठ ।नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवम दाङ जिल्ला इन्चार्ज सविन सीले राजनीति जनताको सेवा क्षेत्र भएको बताएका छन् । आज मंगलबार घोराहीमा भएको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
राजनीति जनताको सेवा गर्ने कुरा हो तर यसलाई यहाँका अन्य दलहरुले पेशा बनाए ।उनले भने-‘ राजनीति पेसा होइन , यो निस्वार्थ ढंगले जनताको सेवा गर्ने कुरा हो । नेकपाले राजनीतिलाई पेशा होइन सेवा गर्ने कर्म बुझेको छ । हामी उत्पादनबाट पार्टीका नेताकार्यकर्तालाई आत्मनिर्भर बनाउने अभियानमा निरन्तर लागिरहेका छौँ । ‘
राजनीतिक नेताकार्यकर्ता उत्पादनमा जोडिन नसके नेताहरु स्वाधिन बन्न नसक्ने र राजनीतिक पेशा बन्न पुग्ने उनले बताए । हाम्रो पार्टी स्वाधिन छ ।उनले भने-‘ अब नेकपा कसैको भर पर्नुपर्दैन , हामी हाम्रै उत्पादनमा बाँचेका छौँ ।’
नेता सविनले नेकपाले २०८४ को निर्वाचनलाई समाजवादी अभियानको रुपमा प्रयोग गर्ने समेत बताए।
चुनावलाई अब क्रान्तीको मोर्चाको रुपमा लिनुपर्दछ , उनले भने- ‘ चुनाव सम्बन्धी कम्युनिस्टका दुई फरक बुझाई रहेका छन् एउटा प्रयोग र अर्को बहिस्कार । नेकपाले चुनावलाई अब कार्यनीति र रणनीतिको बिषय बनाउने भन्दापनी समग्र क्रान्तीको मोर्चाको रुपमा हेर्नुपर्ने छ।’
नेपालका कम्युनिस्टहरु माथी चौतर्फी घेराबन्दी भईरहेका छन्, ‘ चारैतिरवाट यतिबेला कम्युनिस्ट जनमतमाथी घेराबन्दी भइरहेका छन् । अमेरिकी साम्राज्यवाद कम्युनिस्टहरुका विरुद्ध सिधै लड्न यहाँ आइपुगेको छ । यतिबेला हामी सचेत र सतर्क बन्नुपर्ने बेला भएको छ । साम्राज्यवादका विरुद्धको लडाइँमा सबै मोर्चाहरु खुल्ला गरेर जाने पार्टीको नीति रहेको छ । नेपालको कम्युनिस्ट जनमतलाई एकतावद्ध गर्दै समाजवादको बाटो तय गर्नुपर्ने बेला भएको छ । एकातिर नेपालको संसदीय सत्ता चरम संकटमा पुगेको छ यसको निकास नेपाली बिशेषताको समाजवादबाट गरौं भन्ने हाम्रो पार्टीको स्पष्ट प्रस्ताव हो ।’
यस्तै पत्रकार सम्मेलनमा नेकपा दाङका सेक्रेटरी तिलक सीले पार्टीको तेस्रो आवधिक योजनाको पहिलो बैठकको निर्णय सहितको प्रेस बिज्ञप्ति वाचन गरेका थिए ।
जारी प्रेस बिज्ञप्तिमा एकीकृत जनक्रान्तीका सहिद क.महानको शालिक निर्माण गर्ने लगाएतका महत्वपूर्ण निर्णय गरेको छ ।
पत्रकार भेटघाट कार्यक्रममा प्रस्तुत प्रेस बिज्ञप्तीमा कम्युनिस्ट एकता र सहकार्य आजको आवश्यकता , अबको विकल्प नेपाली बिशेषताको समाजवाद , आत्मनिर्भर उत्पादन र जनउधमशिलता , नयाँ संस्कृति सी संस्कृति विषयक सर्वपक्षीय विमर्श र अन्तरक्रियाहरुको आयोजना गर्ने , पार्टीले सञ्चालन गरिरहेका उत्पादन केन्द्रहरुलाई व्यवस्थित गर्ने , जिल्ला पार्टीले विभिन्न कोषहरु सञ्चालन गर्ने , पार्टीको जिल्ला कार्यालय भवन निर्माण गर्न आवश्यक प्रक्रिया सुरुवात गर्ने , गुठि पिडित किसान र सुकुम्बासीहरुले जमिनको स्वामित्व कायम गर्न गरिरहेको संघर्षलाई प्रभावकारी बनाउन पार्टीको तर्फबाट थप पहल गर्ने निर्णय गरेको जारी प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ ।
यस्तै बिज्ञप्तिमा भ्रष्टाचारी , कालाबजारीया , लागुऔसध कारोबारी , मिटरव्याजी तस्करी विरुद्धको कारवाही प्रभावकारी बनाउन सरकारी निकायसंग सहकार्य , समन्वय र संघर्ष गर्ने , मापदण्ड बिपरित खोलानदीको दोहन गर्दै अवैध क्रसर उधोग चलाएर खोलानदी उजाड बनाउने कार्य बन्द गर्न सरोकारवालाहरुलाई सचेत गर्दै गम्भीर ध्यानाकर्षण गराउने टरिगाउँ बिमानस्थ्लको स्तरवृद्धि गर्न र नियमित उडान गर्न जोडदार माग गर्ने निर्णय गरिएको समेत स्पष्ट उल्लेख गरिएको छ ।
यस्तै किसानलाई मल बिउबिजनको सहज उपलब्धताको लागि सरकारी निकायको गम्भीर ध्यानाकर्षण गराउने , असारे विकासको विकृत नेपाली मोडेलमा भइरहेको चरम अनियमितता , भ्रष्टाचार , कमिसन र गुणस्तरहिन निर्माणको कामलाई कडा निगरानी गर्दै गुणस्तरीय निर्माण र छरितो सेवा प्रबाहको लागि पहल गर्ने निर्णय गरेको छ ।
तेस्रो आवधिक योजनाको प्रथम बैठकले यसअघिका तीन वटा जिल्ला समितीहरु एकीकृत गरि १२१ सदस्यीय जिल्ला समिती निर्माण गरिएको जारी प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ ।
पत्रकार भेटघाट कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवम दाङ जिल्ला इन्चार्ज सविन सीको प्रमुख आतिथ्य रहेको थियो ।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्यहरु सम्झना सी , प्रदिप सी , पार्टीका जिल्ला सेक्रेटरी तिलक सी , पार्टीका केन्द्रीय प्रतिनिधि सदस्यहरु विकाश सी र जनक सी , प्रेस काउन्सिल नेपालका केन्द्रीय सदस्य शरद अधिकारी , नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष दुर्गालाल केसि लगाएतको आतिथ्य रहेको थियो ।
पत्रकार भेटघाट कार्यक्रमको सहजीकरण जनपत्रकार संगठन नेपाल दाङका अध्यक्ष हेमन्त प्रकाश वलीले गरेका थिए ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस