दाङ,२२ माघ । चलचित्र पत्रकार संघ नेपाल, दाङ शाखाको आयोजनामा चलचित्र ‘एक्टर टेक वन’ का कलाकारहरूसँग साक्षात्कार कार्यक्रम सम्पन्न भएको छ। भिएफएस सिनेमाज, नारायपुरमा आयोजित कार्यक्रममा अभिनेता प्रदीप खड्का, अभिनेत्री दिव्या रायमाझी, निर्माता थम्मन कुमार भण्डारीलगायत कलाकारहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा अभिनेता प्रदीप खड्काले चलचित्र हेरेर दर्शकहरूले प्रतिक्रिया दिन आग्रह गरे। उनले भने, “सकारात्मक प्रतिक्रिया पाइरहेको छु। यसले मलाई उत्साहित बनाएको छ। आम दर्शकको प्रतिक्रियाले चलचित्र उद्योगमा अझै राम्रो चलचित्रहरू निर्माण गर्ने ऊर्जा थपेको छ।”
अभिनेत्री दिव्या रायमाझीले पहिलो चलचित्रको रूपमा ‘एक्टर टेक वन’ मा अभिनय गर्न पाउनु आफ्ना लागि ठूलो अवसर भएको बताइन्। उनले दर्शकको सकारात्मक प्रतिक्रिया पाउँदा खुशी लागेको बताउँदै, “यसले मलाई अझ राम्रो अभिनय गर्न हौसला दिएको छ” भन्ने धारणा व्यक्त गरिन्।
चलचित्र पत्रकार संघ दाङका अध्यक्ष सन्तोष केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संघका सल्लाहकार दीपक कुमालले नेपाली चलचित्र उद्योगको वर्तमान अवस्था र सम्भावनाबारे विचार राखेका थिए। संघका सदस्य एकराज भण्डारीले स्वागत मन्तव्य दिएका थिए भने कार्यक्रमको सहजीकरण कोषाध्यक्ष भुपेश वलीले गरेका थिए।
हाल देशभर प्रदर्शन भइरहेको ‘एक्टर टेक वन’ दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ। चलचित्र टोलीले आगामी दिनमा अझ स्तरीय चलचित्र ल्याउने प्रतिबद्धता व्यक्त गरेको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस