दाङ,१० फागुन ।नेपाल सुनचाँदी व्यवसायी संघ तुलसीपुरको सातौं अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिले पदभार ग्रहण गरेको छ।
शनिबार संघका अध्यक्ष हरिकृष्ण बिकको अध्यक्षता तथा नेपाल सुनचाँदी व्यवसाय महासंघका पूर्व अध्यक्ष मोहन सुनारको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा सहभागी व्यवसायीहरूले व्यवसायी सुरक्षा, खुला सीमाका कारण उत्पन्न आर्थिक अप्ठ्यारा, मजदूरी दर स्थिरता, र नीति निर्माण प्रक्रियामा व्यवसायीहरूको सहभागिता सुनिश्चित गर्नुपर्ने माग राखे।
कार्यक्रमका प्रमुख अतिथि मोहन सुनारले वैदेशिक मौद्रिक सञ्चितिकरणका कारण कोटा प्रणालीले व्यवसाय सञ्चालनमा समस्या सिर्जना गरेको बताए।
“सरकारले बिना अध्ययन नीति तथा निर्देशिका बनाउँदा व्यवसायीहरू झन्झटिलो प्रक्रियामा परेका छन्, जसले साना व्यवसायीलाई धराशायी बनाइरहेको छ,” उनले भने। महासंघ व्यवसायिक हकहित संरक्षणका लागि कानुनी ड्राफ्ट तयार पारिरहेको र सरकारका नीतिहरूमा सचेत रहेको उनको भनाइ थियो।
संघका केन्द्रिय उपाध्यक्ष बुद्धि दयालीले व्यवसायीहरूलाई एकजुट भएर संगठनलाई सशक्त बनाउन आग्रह गरे। “व्यवसायीहरू आपसमा एकजुट भए मात्र सरकारले हामीलाई गम्भीरतापूर्वक लिन्छ। नीतिगत सुधारका लागि सामूहिक दबाब आवश्यक छ,” उनले भने।
सुनचाँदी व्यवसाय महासंघका कोषाध्यक्ष सुदिप श्रेष्ठले सरकारले व्यवसायीहरूलाई तल्लो स्तरको दृष्टिकोणले हेरेको गुनासो गरे। “वार्षिक २५ अर्बभन्दा बढी राजस्व बुझाउँदा पनि सरकारले व्यवसायीलाई प्राथमिकतामा नराख्नु अन्याय हो। कच्चा पदार्थको मूल्य वृद्धिले व्यवसायमा गम्भीर असर पारिरहेको छ,” उनले बताए।
सुनचाँदी व्यवसाय संघ लुम्बिनी प्रदेश सभापति ध्रुवकुमार गहतराजले प्रदेशभर व्यवसायी तथा कालीगढहरूलाई प्रशिक्षण दिनका लागि प्रदेश सरकारसँग पहल भइरहेको जानकारी दिए।
तुलसीपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष नरेशराज भण्डारीले खुला सीमाका कारण कारोबार व्यवस्थापन कठिन भइरहेको बताए। “खुला नाका भएकाले कारोबारको हिसाब राख्न समस्या छ। यसबारे सरकारको स्पष्ट नीति आवश्यक छ,” उनले माग गरे।
मानवअधिकारकर्मी सुशील बस्नेतले पेशागत सुरक्षाका लागि सरकार मौन रहेको भन्दै आपत्ति जनाए। “व्यवसायीहरूको सुरक्षाका लागि प्रभावकारी नीति आवश्यक छ। राज्यले चुप लागेर बस्ने होइन, व्यवसायलाई सुरक्षित बनाउने कानुन ल्याउनुपर्छ,” उनले भने।
कार्यक्रममा केन्द्रिय सदस्यहरूले महासंघलाई व्यवसायी र सरकारबीच पुलको काम गर्नुपर्ने बताए। “टाढाका साना व्यवसायीहरू झनै समस्यामा छन्। उनीहरूलाई समेत समेट्ने गरी नीति तथा निर्देशिका बनाउन महासंघले पहल गर्नुपर्छ,” उनीहरूले सुझाव दिए।
त्रिसिद्धश्वरी राप्ती यातायात समितिका अध्यक्ष सुरेश हमाल, दलित अधिकारकर्मी निर्मल नेपाली, र दलित महिला संघ दाङकी अध्यक्ष लिला विश्वकर्माले सुनचाँदी व्यवसायसँग सम्बन्धित मजदूरहरूको न्यूनतम ज्याला दर निर्धारणका लागि सरकारसँग समन्वय गर्नुपर्ने बताए। “सरकारले सुनचाँदी मजदूरहरूको पारिश्रमिक दर निश्चित गरेमा मात्रै व्यवसायिक स्थायित्व कायम हुन सक्छ,” उनीहरूले भने।
विभिन्न जिल्लाका सुनचाँदी व्यवसायी संघका अध्यक्षहरूले व्यवसायीहरूमाथि भइरहेका आक्रमणबारे गम्भीर ध्यानाकर्षण गराए। “सरकारले व्यवसायी सुरक्षा सुनिश्चित गर्न विशेष नीति ल्याउनुपर्छ। दुर्गम क्षेत्रका व्यवसायीहरू झनै जोखिममा छन्, महासंघले उनीहरूका लागि प्रभावकारी पहल गर्नुपर्छ,” उनीहरूको माग थियो।
कार्यक्रमको सहजीकरण प्रेस सल्लाहकार लक्ष्मण विश्वकर्माले गरेका थिए।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस