दाङ, १६ फागुन । दाङको तुलसीपुरमा पूर्व प्रहरी कर्मचारीहरूसँग भेटघाट कार्यक्रम सम्पन्न भएको छ। इलाका प्रहरी कार्यालय तुलसीपुर दाङको आयोजनामा शुक्रबार उक्त कार्यक्रम सम्पन्न भएको हो।
इलाका प्रहरी कार्यालय तुलसीपुरका कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक अनिल सिंह ठकुरीको अध्यक्षता तथा लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका कार्यालय प्रमुख प्रहरी नायब महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा उक्त भेटघाट कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक जनार्दन जिसी, जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक चक्र बहादुर शाह, दाङ जिल्ला भूतपूर्व प्रहरी संघका अध्यक्ष रोबर बहादुर बस्नेतलगायतका अधिकारीहरूको उपस्थिति रहेको थियो।
पूर्व प्रहरी कर्मचारीहरूबीच आपसी भाइचारा सुदृढ गर्दै अनुभव आदान-प्रदान गर्ने उद्देश्यले आयोजित कार्यक्रममा करिब १५० जना पूर्व प्रहरी तथा उनीहरूका परिवारजन सहभागी भएका थिए। कार्यक्रममा पूर्व प्रहरीहरूका अनुभव, सुझाव तथा आवश्यकताका विषयमा छलफल भएको थियो।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख अनिल ठकुरीले प्रहरी सेवाबाट अवकाश प्राप्त गरेका कर्मचारीहरूको योगदान अमूल्य रहेको भन्दै उनीहरूसँग निरन्तर सम्पर्क र समन्वय कायम गर्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा सहभागी पूर्व प्रहरी कर्मचारीहरूले यस्ता कार्यक्रमहरूले आपसी सम्बन्ध सुदृढ गर्न सहयोग पुग्ने बताउँदै आगामी दिनमा अझ प्रभावकारी कार्यक्रमहरू सञ्चालन गर्न सुझाव दिएका थिए।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस