after_navbar

जलजलेमा ११२ अर्ब घनमिटर प्राकृतिक ग्याँसको सम्भावना छ: चीनको अध्य्यन


असार ०५, २०८२


काठमाडौं, ५ असार । नेपालका ऊर्जा स्रोतहरूमा विविधता ल्याउने ठूलो सम्भावनाको संकेत दिंदै चीनको प्राविधिक टोलीले दैलेखको जलजले क्षेत्रमा ११२ अर्ब घनमिटर प्राकृतिक ग्याँस रहेको प्रारम्भिक निष्कर्ष दिएको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीका अनुसार यो मिथेन ग्याँस हो भन्ने पनि पुष्टि भएको छ, जसले नेपाललाई करिब ५० वर्षसम्म ऊर्जा आवश्यकतामा राहत दिने क्षमता राख्दछ।

२०८० सालको वैशाख २८ गतेदेखि चीनको सरकारी संस्था चाइना जिओलोजिकल सर्भे र सीएनपीसी सीबु इन्जिनियरिङ कम्पनीले ४ हजार मिटर गहिरो ड्रिलिङ गरी दैलेखको जलजले क्षेत्रमा ग्याँसको खोजी थालेका थिए। प्रारम्भिक अध्ययनकै क्रममा जमिनमुनिबाट ग्याँसको गन्ध आएको थियो। त्यसपछि चट्टानका नमूना परीक्षणका लागि चीन लगिएको थियो।

ती परीक्षणहरूबाट मिथेन ग्याँसको उपस्थितिको पुष्टिसहित ठूलो परिमाणको ग्याँस रहेको प्रारम्भिक निष्कर्ष आएको हो। विस्तृत अध्ययन प्रतिवेदन सन् २०२४ डिसेम्बरसम्म उपलब्ध हुने अपेक्षा गरिएको छ, यद्यपि नेपालले प्रतिवेदन चाँडो दिन आग्रह गरेको छ।

पेट्रोल–डिजेलको स्वच्छ विकल्पका रूपमा मानिने मिथेन ग्याँसले यातायात, विद्युत् उत्पादन, घरायसी उपयोगदेखि मल कारखानामा समेत बहुउपयोगी साबित हुन सक्ने विज्ञहरूको भनाइ छ। खानी तथा भूगर्भ विभाग अन्तर्गत पेट्रोलियम अन्वेषण परियोजनाका सूचना अधिकारी प्रकाश लुइँटेलका अनुसार मिथेन ग्याँसबाट हाइड्रोजन छुट्याई अमोनिया उत्पादन गर्न सकिन्छ, जसले मल उद्योगमा ठूलो सहयोग पुर्‍याउन सक्छ।

मन्त्री भण्डारीका अनुसार विस्तृत प्रतिवेदनपछि ७५ दिनको समयावधिमा परीक्षण उत्पादन सुरु गर्ने योजना बनाइएको छ, जसका लागि ६५ अर्ब रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ। ग्याँस व्यावसायिक रूपमा प्रयोगमा ल्याउन सकिएमा नेपालको ऊर्जा आत्मनिर्भरता मात्र होइन, आर्थिक समृद्धिमा पनि ठूलो फड्को मार्न सकिने सरकारको धारणा छ।

ओलीको नेतृत्वमा चिनियाँ टोलीलाई नेपालका सम्भावित खानीहरूमा अन्वेषणको निम्तो दिइएको थियो। यद्यपि, तत्कालीन उद्योग मन्त्री सोमप्रसाद पाण्डेले घोषणा गरेको समयसीमा भित्र उत्खनन् प्रक्रिया सुरु हुन सकेन र झण्डै एक दशकपछि मात्र औपचारिक उत्खनन् प्रक्रिया अघि बढेको हो।

नेपाल सरकारले देशभरका सम्भावित पेट्रोलियम स्रोत क्षेत्रलाई १० वटा ब्लकमा वर्गीकृत गरेको छ। तर, हालसम्म दैलेख बाहेक अन्य ब्लकहरूमा व्यावसायिक उत्खनन् सुरु गरिएको छैन। १९७८/७९ मा विश्व बैंकको सहयोगमा गरिएको एअरबोर्न म्याग्नेटिक सर्वेक्षणले तराई र सिवालिक क्षेत्रमा उत्साहजनक संकेत दिएको थियो।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="