काठमाडौँ ६ साउन। जिल्लाको प्रमुख सरकारी स्वास्थ्य संस्था जिल्ला अस्पताल खोटाङमा जन्मिएका एक नवजात शिशुको उपचारका क्रममा काठमाडौंमा मृत्यु भएको छ।
सोमबार शल्यक्रियाबाट जन्मिएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५, विजयखर्क मालाका जानुका खत्री र सर्वकुमार खत्रीका दोस्रो सन्तानको जन्मपछि तुरुन्तै श्वासप्रश्वासमा समस्या देखिएको थियो। अवस्था जटिल देखिएपछि राष्ट्रपति मातृत्व तथा नवजात शिशु हवाई उद्धार कार्यक्रमअन्तर्गत नेपाली सेनाको हेलिकप्टरमार्फत आमासँगै शिशुलाई काठमाडौंको कान्ति बाल अस्पताल पठाइएको थियो।
तर उपचारकै क्रममा शिशुको ज्यान गएको आफन्तले जनाएका छन्। यद्यपि, आमा जानुकाको स्वास्थ्य अवस्था सामान्य रहेको चिकित्सकहरूले बताएका छन्।
जिल्ला अस्पतालका प्रमुख डा. रुपेश सङ्ग्रौलाका अनुसार, सन्तान जन्माउने म्याद एक हप्ता नाघिसकेपछि पनि तीन पटकसम्म औषधि दिएर व्यथा सुरु गराउने प्रयास गर्दा असफल भएपछि शल्यक्रिया गरिएको थियो। तर जन्मिएपछि तुरुन्तै बच्चामा देखिएको सास फेर्ने समस्या जटिल बन्दै गएपछि थप उपचारका लागि काठमाडौं रिफर गरिएको थियो।
शिशुको मृत्युपछि आफन्तले अस्पतालको लापरबाहीले घटना भएको आरोप लगाएका छन्। तर अस्पताल प्रशासनले भने पूर्वाधार, दक्ष जनशक्ति र आवश्यक उपकरणको अभावका कारण जटिल अवस्थाका बिरामीलाई थप उपचारका लागि अन्यत्र पठाउन बाध्य हुने अवस्था रहेको स्पष्ट पारेको छ।
गत असार २२ गते १५ शय्याबाट ५० शय्यामा स्तरोन्नति गरिएको जिल्ला अस्पताल हालसम्म पनि आवश्यक संरचना र जनशक्तिविना सञ्चालन भइरहेको छ। भौतिक पूर्वाधार विकासमन्त्री भूपेन्द्र राईले स्तरोन्नतिको घोषणा गरे पनि अस्पताल भवन अझै निर्माणाधीन अवस्थामा छ।
विसं २०४९ मा स्थापना भएको यो अस्पताल तीन दशकपछि पनि न्यूनतम स्वास्थ्य सेवा दिन नसक्ने अवस्थामा छ। स्वास्थ्य पूर्वाधार र जनशक्तिको अभावले विकट क्षेत्रका बासिन्दा हरेक दिन ज्यान जोखिममा पार्दै हेलिकप्टरमार्फत राजधानी पुग्न बाध्य छन्।
शिशुको मृत्युले जिल्ला अस्पतालको क्षमतामाथि गम्भीर प्रश्न उठाएको छ। ‘स्तरोन्नति’को नारा मात्रै लिएर सेवा विस्तार नगरेसम्म विकट क्षेत्रका नागरिकको स्वास्थ्य अधिकार सुनिश्चित हुन सक्ने अवस्था छैन।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस