एजेन्सी । थाइल्यान्डको सेनाले कम्बोडियामाथि युद्धविराम उल्लंघन गर्दै विवादित सीमाका तीन फरक स्थानमा हतियार प्रहार गरेको गम्भीर आरोप लगाएको छ। थाई सेनाले आक्रोशित हुँदै यदि आक्रामकता कायमै रह्यो भने थप निर्णायक कारवाही गर्न बाध्य हुने चेतावनी दिएको छ।
थाइल्यान्ड र कम्बोडियाबीच मलेसियामा भएको सहमतिअनुसार सोमवार मध्यरातदेखि युद्धविराम लागू भएको थियो। तर, त्यसयता यो दोस्रोपटक युद्धविराम उल्लंघन भएको थाई सेनाको भनाइ छ, जसले दुई देशबीचको विश्वासमा खलल पुर्याएको छ।
थाई सेनाका प्रवक्ता मेजर जनरल विनथाइ सुवारीका अनुसार कम्बोडियाली सेनाले थाइल्यान्डको सिसाकेत प्रान्तमा रहेका थाई सैनिकमाथि साना हतियार र ग्रिनेड प्रयोग गरेर आक्रमण गरेको थियो, जसको जवाफमा थाई सेनाले आत्मरक्षाका लागि प्रतिक्रिया जनाएको थियो।
सीमाविवादका कारण हालसम्म भएको हिंसात्मक भिडन्तमा कम्तीमा ४३ जनाको ज्यान गएको छ भने दुवै देशका गरी ३ लाखभन्दा बढी सर्वसाधारण विस्थापित भएका छन्। यद्यपि, पछिल्लो झडपमा भने भारी हतियार प्रयोग भएको पुष्टि भएको छैन र दुबै पक्षले अझैसम्म सैनिक फिर्ता पनि बोलाएका छैनन्।
कम्बोडियाले भने थाइल्यान्डको आरोपलाई अस्वीकार गर्दै आफू युद्धविराममा प्रतिबद्ध रहेको बताएको छ। कम्बोडियाको विदेश मन्त्रालयका प्रवक्ता चुम सौनरीले यी आरोपहरू गलत, भ्रामक र विश्वास निर्माण प्रक्रियाका लागि हानिकारक भएको प्रतिक्रिया दिएका छन्। उनले स्वतन्त्र पर्यवेक्षकहरूलाई सीमामा बोलाउने र अनुगमन संयन्त्र बनाउने कुरामा पनि सरकार सहमत रहेको बताएका छन्।
दुवै देशबीच उत्पन्न तनावको समाधान खोज्न आगामी अगस्ट ४ मा उच्चस्तरीय बैठक हुँदैछ, जसमा थाइल्यान्ड र कम्बोडियाका रक्षामन्त्रीहरू सहभागी हुने तय भएको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस