after_navbar

प्रधानाध्यापक शिक्षक महासंघको सदस्य बन्न नपाउने: बढुवाका लागि आधार तय


श्रावण २३, २०८२



काठमाडौँ, २२ साउन। विद्यालय शिक्षा विधेयकसम्बन्धी छलफलमा प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले शिक्षक महासंघको सदस्यता र शिक्षक बढुवा प्रणालीसम्बन्धी महत्त्वपूर्ण प्रस्तावहरू पारित गरेको छ।

समितिको बिहीबार बसेको बैठकले परामर्श उपसमितिबाट सहमति जुटाइएको संशोधन प्रस्ताव पारित गर्दै अबदेखि शिक्षक महासंघको सदस्य रहेका शिक्षक प्रधानाध्यापकमा नियुक्त भएलगत्तै सदस्यता स्वतः निष्क्रिय हुने व्यवस्था गरेको हो।

नयाँ प्रावधानअनुसार प्रधानाध्यापकको पदमा रहँदासम्म उनीहरूले महासंघको कुनै पनि गतिविधिमा संलग्न हुन पाउने छैनन्। यद्यपि, सदस्यता निष्क्रिय हुँदा पनि शिक्षकले पाउने सेवा, सुविधा र जिम्मेवारीमा भने कुनै कटौती नहुने प्रस्टाइएको छ।

महासंघका पदाधिकारीहरूलाई दिइने काजसम्बन्धी व्यवस्थाको लागि भने छुट्टै प्रस्ताव विधेयकमा समावेश गरिएको छ।

तीन आधारमा बढुवा
समितिको बैठकले शिक्षकको बढुवा प्रणालीलाई सुधार गर्दै अब तीनवटा स्पष्ट आधार अपनाउने निर्णय पनि गरेको छ। नयाँ व्यवस्था अनुसार आन्तरिक प्रतियोगिता, जेष्ठता र कार्यसम्पादन मूल्याङ्कन तथा कार्यक्षमताको मूल्याङ्कन लाई बढुवाको आधार बनाइनेछ।

यसअघि कायम रहेको आन्तरिक प्रतियोगिता र समय अनुसार स्वतः बढुवा हुने प्रणालीलाई संशोधन गर्दै मूल्यांकनलाई मुख्य मानक बनाउने सहमति बनेको हो।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="