दाङ,२७ साउन । अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर तुलसीपुर नगर जेसीजले वित्तीय सचेतना कार्यक्रम गरेको छ। आर्थिक समृद्धिका लागि हाम्रो पहल भन्ने मूल नाराका साथ’ protect your money’शीर्षकमा वित्तीय सचेतना दिएको हो।
नगर जेसीज वर्ष २०२५ का अध्यक्ष सन्दिप भुसालको अध्यक्षता तथा राप्ती बबै क्याम्पस तुलसीपुरका क्याम्पस प्रमुख गणेश पार्देको प्रमुख अतिथितामा उक्त कार्यक्रम भएको हो।
कार्यक्रममा हिमाल एकाडेमी र ग्रेट अरनीको विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा एनआइसी एसिया बैंक तुलसीपुरका शाखा प्रमुख राजीव ओलीले ‘बचत कसरी गर्ने’ भन्ने विषयमा प्रशिक्षण दिएका थिए।
ओलीले बैंक कर्मचारीको दृष्टिकोणबाट सेफ मनीको सिद्धान्त व्याख्या गर्दै नियमित बचतको आवश्यकता, आम्दानी र खर्चको सन्तुलन, जोखिम व्यवस्थापन, डिजिटल बैंकिङ प्रयोग गर्दा अपनाउनुपर्ने सावधानी, र ठगी वा साइबर अपराधबाट जोगिने उपायबारे विद्यार्थीलाई जानकारी गराए। उनले बचतलाई केवल पैसा जम्मा गर्ने कार्य नभई आर्थिक सुरक्षा र भविष्य निर्माणको आधारका रूपमा लिनुपर्नेमा जोड दिए।
कार्यक्रममा नगर जेसीजका पूर्व अध्यक्ष सूर्य शर्माले नेपालमा उत्पादनलाई टिकाउने वातावरणको कमी रहेको उल्लेख गर्दै बाल्यकालदेखि नै विद्यार्थीमा उद्यमशील सोच र सीप विकास गर्नुपर्नेमा जोड दिए। उनले सार सीप सिकाउन र उद्यमशीलता प्रवर्द्धन गर्न नसके अबको शिक्षा असफल हुने धारणा व्यक्त गरेका थिए।
जेसीजका निवर्तमान अध्यक्ष पूर्णविक्रम डाँगी कार्यक्रमको स्वागत मन्तव्य व्यक्त गरेका थिए भने पूर्व महासचिव कमल प्रकाश शर्माले जेसिस आस्था पाठ गरेका थिए । कार्यक्रमको सहजीकरण महासचिव बुद्धिराज सापकोटाले गरेका थिए।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस