काठमाण्डाै ,७ भदौ । नेपाल भ्रमणमा रहेकी समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति भो थि आन सुआनसँग परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले आज काठमाण्डाैमा शिष्टाचार भेटवार्ता गरेकी छन् ।
राष्ट्रपति रामसहायप्रसाद यादवको निमन्त्रणामा तीन दिने औपचारिक भ्रमणका लागि नेपाल आएकी उपराष्ट्रपति भोसँग भएको भेटमा द्विपक्षीय हितका विषय, आपसी चासो र नेपाल–भियतनाम सम्बन्धका विभिन्न आयामबारे छलफल गरियो।
भेटमा मन्त्री राणाले भियतनामको तीव्र आर्थिक विकासप्रति शुभकामना दिंदै अन्य मुलुकले समेत भियतनामबाट सिक्न सक्ने धारणा राखिन।
उनले दुवै देशबीचको सांस्कृतिक सम्बन्ध बलियो पार्नुपर्नेमा जोड दिंदै गौतम बुद्धको जन्मस्थल लुम्बिनी भ्रमणमा आउने भियतनामी पर्यटकको प्रसंग उठाइन। साथै, सांस्कृतिक पर्यटन प्रवर्द्धनमा दुवै देशले सहकार्य गर्न सक्ने उल्लेख गरिन।
मन्त्री राणाले भियतनामलाई भैरहवा स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सञ्चालनका लागि वातावरण बनाउन आग्रह गरिन।
त्यस्तै, सन् २०२६ पछि नेपाल अतिकम विकसित राष्ट्र (LDC) को सूचीबाट बाहिरिने तयारीमा रहेको भन्दै त्यसपछिको चरणमा भियतनामको सहयोग आवश्यक हुने बताइन।
नेपालले सन् २०२७–२०२९ का लागि मानव अधिकार परिषद् र २०२९–२०३१ का लागि आर्थिक तथा सामाजिक परिषद् सदस्यमा उम्मेदवारी दिएको प्रसंगमा राणाले भियतनामको समर्थन मागिन। यसमा उपराष्ट्रपति भोले नेपाललाई सहयोग गर्ने प्रतिबद्धता जनाइन्।
दुवै पक्षबीचको छलफलमा द्विपक्षीय तथा बहुपक्षीय सहयोग, दक्षिण–दक्षिण सहयोग, जलवायु परिवर्तन लगायतका विश्वव्यापी एजेन्डामा सहकार्य गर्दै अघि बढ्ने सहमति गरियो।
साथै, जी–७७ र नाम (Non-Aligned Movement) का सदस्यका रूपमा नेपाल र भियतनाम विकासशील मुलुकहरूको हितमा एकमत भएर काम गर्दै आएको पनि दुवै पक्षले स्मरण गरिन।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस