काठमाडौँ, १९ भदौ । फेसबुकलगायतका सामाजिक सञ्जाललाई सूचीकरणका लागि सरकारले दिएको ७ दिने म्याद बुधबार मध्यरातमा सकिएको छ । यसबारे थप निर्णय लिन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा अहिले बैठक जारी छ ।
दर्ता नभएका सामाजिक सञ्जाललाई क्रमशः निष्क्रिय गराउने र प्रक्रियामा आएपछि पुनः सक्रिय गर्ने तयारी सरकारको रहेको मन्त्रालय स्रोतले जनाएको छ ।
सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङ, सचिव राधिका अर्याल, सहसचिव एवम् सञ्चार महाशाखा प्रमुख गजेन्द्रकुमार ठाकुर, सूचना प्रविधि महाशाखा प्रमुख सहसचिव आदेश खड्का, नेपाल दुरसञ्चार प्राधिकरणका पदाधिकारीसहितको बैठकमा सामाजिक सञ्जाल निष्क्रिय गर्ने विधि र प्रक्रिया तय गर्नेबारे छलफल भइरहेको छ ।
नेपालमा भाइबर, टिकटक, विटक, निम्बजजस्ता सामाजिक सञ्जाल सूचीकरण भइसकेका छन् । टेलिग्राम र ग्लोबल डायरी सूचीकरणको प्रक्रियामा छन् । तर, फेसबुक, ट्वीटर (एक्स), वाट्सएपजस्ता ठूला सामाजिक सञ्जाल सूचीकरणमा नआएको मन्त्रालयका अधिकारीले जनाएका छन् ।
मन्त्रालयले यसअघि नै ती कम्पनीलाई इमेलमार्फत पत्राचार गरी सूचीकरणमा आउन आग्रह गरेको थियो ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस