काठमाडौ,३१ असोज । जापानका पूर्वप्रधानमन्त्री तोमिची मुरयामाको १०१ वर्षको उमेरमा शुक्रबार निधन भएको जापानी अधिकारीहरूले जनाएका छन्।
दोस्रो विश्वयुद्धका बेला जापानले एसियाली देशहरूमा गरेका अत्याचारबारे ‘गहिरो पश्चाताप’ व्यक्त गर्ने ऐतिहासिक वक्तव्यका कारण मुरयामा विशेष रूपमा चिनिएका थिए।
सोसल डेमोक्रेटिक पार्टीकी नेत्री मिजुहो फुकुसिमाले एक्समार्फत जानकारी दिँदै लेखिन्, “जापानी राजनीतिको पिता मुरयामा तोमिचीको आज बिहान ११ः२८ बजे ओइटा सिटीस्थित अस्पतालमा १०१ वर्षको उमेरमा निधन भएको छ।”
उनको गृहनगर ओइटाका सोसल डेमोक्रेटिक पार्टीका महासचिव हिरोयुकी टाकानोले मुरयामाको बुढ्यौलीका कारण निधन भएको पुष्टि गरे।
सन् १९९५ मा जापानको आत्मसमर्पणको ५०औँ वार्षिकोत्सवका अवसरमा जारी गरिएको आफ्नो प्रसिद्ध वक्तव्यमा मुरयामाले भनेका थिए, “जापानले औपनिवेशिक शासन र आक्रामक नीतिहरूका माध्यमबाट धेरै देशका, विशेष गरी एसियाली मुलुकका नागरिकहरूलाई ठूलो क्षति र पीडा पुर्यायो। भविष्यमा यस्ता गल्तीहरू दोहोरिन नदिनका लागि म गहिरो नम्रता र पश्चातापका साथ यी इतिहासका अकाट्य सत्यहरूलाई सम्मान गर्दछु र हार्दिक माफी प्रकट गर्दछु।”
यो वक्तव्य जापानले दोस्रो विश्वयुद्धमा गरेका अपराधबारे माफी माग्ने क्रममा अपनाइने स्थायी मापदण्ड बन्यो। त्यसपछि आएका प्रधानमन्त्रीहरूले पनि युद्धका ६०औँ र ७०औँ वार्षिकोत्सवमा ‘गहिरो पश्चाताप’ र ‘हार्दिक माफी’ जस्ता शब्दहरू प्रयोग गर्दै मुरयामाको भावना दोहोर्याएका थिए।
घना आँखीभौँका कारण चिनिने मुरयामाले जापानको युद्धपछिको प्रमुख राजनीतिक शक्ति लिबरल डेमोक्रेटिक पार्टीसमेत समावेश भएको गठबन्धन सरकारको नेतृत्व गरेका थिए। उनी सन् १९९४ देखि १९९६ सम्म प्रधानमन्त्री रहे।
उनको कार्यकाल जापानका लागि अत्यन्त चुनौतीपूर्ण रह्यो। सन् १९९५ मा पश्चिमी जापानमा विनाशकारी भूकम्प आएको थियो भने त्यही वर्ष टोकियोको सबवेमा भएको सारिन ग्यास आक्रमणमा दर्जनौँ नागरिकको मृत्यु र करिब ५ हजार ८०० जना घाइते भएका थिए।
मुरयामाले आफ्नो जीवनको आरम्भिक चरणमै जापानको इतिहाससँग प्रत्यक्ष सम्बन्ध राखेका थिए। सन् १९४४ मा विश्वविद्यालयमा अध्ययनरत रहँदै उनी जापानी शाही सेनामा भर्ती भएका थिए।
सन् २०१५ मा जापानको सार्वजनिक प्रसारक एनएचकेसँगको अन्तर्वार्तामा उनले सेनामा बिताएको समय स्मरण गर्दै भनेका थिए, “सेना भनेको डरलाग्दो कुरा थियो। त्यहाँ विद्रोह वा तर्क गर्न पूर्ण रूपमा निषेध गरिएको थियो।”
उनले युद्धको अन्त्यतिरको कठिन अवस्थाको पनि स्मरण गरेका थिए, “त्यो समयसम्म खाना निकै अभावमा थियो, हतियारहरू पनि समाप्तप्रायः भइसकेका थिए। बाँसबाट बनेका हतियार मात्र बाँकी थिए। यस्तो अवस्थामा हामी कसरी युद्ध गर्न सक्थ्यौँ भनेर सोच्दा अहिले पनि डर लाग्छ।”
जापानको राजनीतिक इतिहासमा तोमिची मुरयामा नम्रता, आत्मआलोचना र मानवताको पक्षमा दृढ रहने नेता मानिन्छन्। उनको निधनले जापानी राजनीतिको एउटा युगको अन्त्य भएको रूपमा लिइएको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस