काठमाडौं,३ कार्तिक । इजरायलमा मारिएका नेपाली नागरिक विपिन जोशीको शव आज दिउँसो नेपाल आइपुग्ने भएको छ। परराष्ट्र मन्त्रालयका अनुसार कञ्चनपुरका जोशीको पार्थिव शरीर फ्लाई दुबईको विमानमार्फत् त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइँदै छ।
विपिनप्रति श्रद्धाञ्जली अर्पण गर्न प्रधानमन्त्री, मन्त्रीहरू तथा परराष्ट्र मन्त्रालयका अधिकारीहरू विमानस्थलमा उपस्थित हुने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ।
हमासले जोशीलाई २०८० असोज २३ गते इजरायलको किबुत्ज आलुमिम क्षेत्रबाट अपहरण गरेको थियो। केही समयपछि उनको जीवित अवस्थाको भिडियो सार्वजनिक भएको थियो। पछि इजरायल–हमासबीच भएको युद्धविराम सम्झौताअनुसार बन्दी साटासाट गर्दा हमासले जोशीको शव इजरायली सेनालाई हस्तान्तरण गरेको हो। डीएनए परीक्षणपछि शव जोशीकै भएको पुष्टि भएपछि नेपाल ल्याउन लागिएको हो।
आइतबार इजरायलको तेल अवीवस्थित खटिभा ८ को स्मारक र बेनगुरिएन विमानस्थलमा आयोजित कार्यक्रममा उनको पार्थिव शरीरप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो। जोशीको शव रहेको कफिनमा नेपाली झण्डा आढाइएको थियो।
७ अक्टोबर २०२३ : त्यो भयावह रात
त्यो दिन इजरायल–हमास युद्ध सुरु भयो। यस क्रममा किबुत्ज आलुमिमलगायतका क्षेत्रहरू आक्रमणमा परे, जसमा धेरै निर्दोष नागरिक मारिए, घाइते भए र केही अपहरणमा परे।
त्यही आक्रमणका क्रममा विपिन पनि प्रभावित बनेका थिए। उनीहरू सुरक्षित कोठातर्फ लगिँदै गर्दा आक्रमणको निशानामा परेका थिए। सो समूहमा रहेका १० नेपाली विद्यार्थी मारिए, केही घाइते भए, केहीले भागेर ज्यान जोगाए भने केहीलाई उद्धार गरियो। तर, विपिन बेपत्ता भए।
विभिन्न सञ्चारमाध्यमका अनुसार उनले आक्रमणको बेला एक ग्रिनेड समाती बाहिर फ्याँक्ने प्रयास गरेका थिए। यो साहसिक प्रयास अहिले उनको बहादुरीको प्रतीक बनेको छ। तर, त्यसपछि धेरै समयसम्म उनको अवस्थाबारे कुनै विश्वसनीय जानकारी प्राप्त हुन सकेन।
नेपाल सरकार, इजरायल सरकार, मानवअधिकार समूह र नेपाली समुदायहरूले निरन्तर खोजी गरे पनि लामो समयसम्म उनीबारे यकिन जानकारी नआएपछि परिवार निरन्तर प्रतीक्षामा थियो। अन्ततः डीएनए परीक्षणबाट पुष्टि भएपछि आज उनका पार्थिव शरीर स्वदेश फर्किँदै छन्।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस