after_navbar

संन्यास लिदै क्रिकेटर शरद भेषवाकर


कार्तिक ०४, २०८२


काठमाडौं,३ कार्तिक । नेपाली क्रिकेटका सफल ब्याट्सम्यान शरद भेषवाकरले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिने भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) का अनुसार उनले नोभेम्बर ७ देखि ९ सम्म हङकङमा हुने हङकङ क्रिकेट सिक्सेस मा नेपालको कप्तानी गर्नेछन्, जुन उनको अन्तिम अन्तर्राष्ट्रिय प्रतियोगिता हुनेछ।

ad

सन् २००२ मा यूएईमा आयोजित यू–१५ एसिया कपबाट आफ्नो खेलजीवन सुरु गरेका शरदले नेपालको क्रिकेट इतिहासमा धेरै ‘पहिलो’ उपलब्धिहरूका साक्षी बनेका छन्। नेपालले खेलेको पहिलो प्रथम श्रेणी मान्यता प्राप्त तीनदिवसीय खेल, पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय (ODI) र पहिलो ट्वान्टी–२० अन्तर्राष्ट्रिय (T20I) टोलीका उनी सदस्य हुन्।

नेपाली राष्ट्रिय टोलीबाट उनले पहिलोपटक २००४ मा आफ्नो जन्मथलो यूएईमै ‘डेब्यु’ गरेका थिए। अन्तरमहादेशीय कपको तीनदेशीय प्रतियोगितामा यूएईविरुद्ध शारजहाँमा दोस्रो इनिङ्समा अविजित अर्धशतक बनाएर उनले उत्कृष्ट सुरुवात गरेका थिए।

शरद नेपालले विश्व क्रिकेट लिग डिभिजन–५ बाट सुरु गरेको यात्रा एकदिवसीय मान्यता प्राप्त राष्ट्र बन्ने क्रममा महत्वपूर्ण भूमिकामा रहेका खेलाडी हुन्।

उनको क्रिकेट यात्रामा सबैभन्दा सम्झनलायक पल सन् २०१३ मा यूएईमै सम्पन्न आईसीसी ट्वान्टी–२० विश्वकप ग्लोबल छनोट हो। सो प्रतियोगितामा उनले उत्कृष्ट फिनिसरको भूमिकामा रहेर नेपाललाई पहिलो पटक ट्वान्टी–२० विश्वकपमा पुर्‍याएका थिए। हङकङविरुद्धको निर्णायक खेलमा उनले विजयी रन बनाएपछि नेपाल विश्वकपमा पुगेको थियो।

त्यस्तै, २०१८ मा एम्स्टर्डममा नेदरल्यान्ड्सविरुद्ध खेलिएको खेल नेपालको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय थियो, जसमा पनि शरद सहभागी थिए। उनले पछिल्लो एकदिवसीय अन्तर्राष्ट्रिय सन् २०२१ मा र पछिल्लो ट्वान्टी–२० अन्तर्राष्ट्रिय सन् २०२२ मा खेलेका थिए।

गत सिजन ३७ वर्षका शरदले चितवन राइनोज बाट नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट खेलेका थिए। चार खेल खेलेका उनले सबैमा ब्याटिङमा अविजित रहँदै राम्रो प्रदर्शन गरेका थिए। तर, यसपटकको मिनी अक्सनमा उनीमाथि कुनै टिमले बोली लगाएको थिएन।

शरदको कप्तानीमा सन्दीप जोरा, आदिल आलम अन्सारी, लोकेश बम, बसिर अहमद, रसिद खान र रूपेश सिंहले हङकङमा हुने सुपर सिक्सेस प्रतियोगितामा नेपालका तर्फबाट सहभागिता जनाउनेछन्।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="