काठमाडौ,१४ कार्तिक । सरकारले अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरण प्रक्रियाa व्यवस्थित गर्न ‘छापाखाना र प्रकाशन सम्बन्धी (दोस्रो संशोधन) नियमावली, २०८२’ जारी गरेको छ।
नयाँ नियमावली अनुसार, अब नयाँ अनलाइन सञ्चारमाध्यम दर्ता गर्न ५ हजार रुपैयाँ दस्तुर तिर्नुपर्नेछ भने सञ्चालनमा रहेका अनलाइन मिडियाले हरेक आर्थिक वर्ष आफ्नो प्रमाणपत्र २ हजार ५ सय रुपैयाँमा नवीकरण गर्नुपर्नेछ। यसअघि अनलाइन सञ्चारमाध्यम दर्ता र नवीकरणका लागि शुल्क तिर्नु नपर्ने व्यवस्था थियो।
नियमावलीले नवीकरणमा ढिलाइ भएमा पहिलो महिनामा १० प्रतिशतदेखि सातौँ महिनासम्म २०० प्रतिशतसम्म जरिवाना तिर्नुपर्ने व्यवस्था गरेको छ। तर, २०८२ पुस मसान्तसम्म नवीकरण गर्ने अनलाइन मिडियाले थप शुल्क तिर्नु नपर्ने जनाइएको छ।
नयाँ व्यवस्थाअनुसार अनलाइन सञ्चारमाध्यममा कम्तीमा सम्पादकसहित तीन जना कर्मचारी अनिवार्य हुनु पर्नेछ। साथै, एउटै व्यक्ति एकभन्दा बढी अनलाइनको सम्पादक बन्न नपाउने प्रावधान राखिएको छ।
दर्ता र नवीकरणका लागि आवेदन सूचना व्यवस्थापन प्रणालीमार्फत गर्नुपर्ने र अनलाइन सञ्चारमाध्यमले आफ्नो वेबसाइटमा दर्ता नम्बर, कार्यालयको नाम, ठेगाना, सम्पर्क नम्बर र सम्पादकको विवरण अनिवार्य रूपमा राख्नुपर्नेछ।
पहिले नै दर्ता भइसकेका अनलाइन सञ्चारमाध्यमले पुनः दर्ता गर्न नपर्ने भए पनि हरेक वर्ष नवीकरण अनिवार्य हुनेछ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस