after_navbar

दार्मामा १२८ जनामा स्क्रबटाइफस: चारजनाको मृत्यु


कार्तिक २४, २०८२


सल्यान, २३ कार्तिक । सल्यानको दार्मा गाउँपालिकामा स्क्रबटाइफस संक्रमण तीव्र गतिमा फैलिएको छ। गाउँपालिकाका ४९८ जनाको स्वास्थ्य परीक्षण गर्दा १२८ जनामा स्क्रबटाइफस पोजिटिभ देखिएको हो।

ad

गाउँपालिका स्वास्थ्य शाखा प्रमुख यज्ञबहादुर बस्नेतका अनुसार असोजदेखि कात्तिक पहिलो सातासम्म उच्च ज्वरोका कारण चार महिलाको मृत्यु भइसकेको छ। पछिल्लो समय पनि गाउँभर ज्वरोका बिरामी बढिरहेका छन्।

दुई दिन शिविर र पाँच दिन घरघरमै स्वास्थ्य परीक्षण गर्दा १२८ जनामा संक्रमण पुष्टि भएको हो। तीमध्ये करिब ७० प्रतिशत महिला रहेका बस्नेतले बताए।

उनका अनुसार स्वास्थ्य सेवा कार्यालयसँग समन्वय गरेर सञ्चालन गरिएको शिविरमा ५१ जना, प्रदेश सरकारसँगको सहकार्यमा घरघरमा परीक्षण गर्दा ७३ जना र गाउँपालिकाका स्वास्थ्य संस्थामा परीक्षण गर्दा ४ जनामा स्क्रबटाइफस पोजिटिभ देखिएको छ।

‘असोज र कात्तिक पहिलो साता चार महिलाको मृत्यु भए पनि अहिले पोजिटिभ देखिएका बिरामीलाई गाउँमै उपचार गर्न थालेपछि मृत्यु हुन रोकिएको छ,’ बस्नेतले बताए।

हाल पनि गाउँघरमा ज्वरोका बिरामी छन्। प्रदेश सरकारले खटाएका स्वास्थ्यकर्मी आइतबार फर्किएका छन्। बस्नेतका अनुसार स्क्रबटाइफस परीक्षणका किटको अभावका कारण थप परीक्षणमा समस्या भइरहेको छ।

‘केही स्वास्थ्य संस्थामा किट उपलब्ध गराइएका छन्,’ उनले भने, ‘तर ती समाप्त भएपछि बिरामी भएका ठाउँमा पुगेर परीक्षण गर्न कठिनाइ हुने अवस्था आएको छ।’

गाउँपालिका अध्यक्ष नीमबहादुर केसीले स्क्रबटाइफसले स्थानीयस्तरमा गम्भीर समस्या उत्पन्न गरेको बताए। उनका अनुसार अहिले संक्रमण केही घट्दै गए पनि जोखिम भने कायम छ।

अध्यक्ष केसीले संक्रमणबाट बच्न सरसफाइमा ध्यान दिन, जंगल वा घर नजिक बारीमा काम गर्दा सावधानी अपनाउन आग्रह गरेका छन्। साथै, परीक्षण किटका लागि सम्बन्धित निकायसँग माग गरिएको उनले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="