after_navbar

पूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको फैसला


मङि्सर ०२, २०८२


काठमाडौ,१ मंसिर । बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई ‘मानवता विरुद्धको अपराध’ को अभियोगमा त्यहाँको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले मृत्युदण्डको फैसला सुनाएको छ।

ad

अदालतले विद्यार्थी नेतृत्वको आन्दोलन दमनका क्रममा नागरिकमाथि कठोर कारबाही गर्ने निर्देशन दिएको आरोप हसिनामाथि लगाएको हो। यसै मुद्दामा पूर्व गृहमन्त्री असदुज्जमान खान कमाललाई पनि मृत्युदण्ड र पूर्व प्रहरी महानिरीक्षक चौधरी अब्दुल्लाह अल ममुनलाई पाँच वर्ष कैद सजाय सुनाइएको छ।

अदालतले तीनै जनाको सम्पत्ति जफत गर्न आदेश दिएको छ। हसिनाको अनुपस्थितिमै भारतमा निर्वासनमा रहेका बेला मुद्दा चलाएर फैसला सुनाइएको हो। बंगलादेश सरकारद्वारा गठन गरिएको यस विशेष ट्रिब्युनलले गत वर्ष आन्दोलन दमनका क्रममा गरिएको ‘मानवता विरुद्धको अपराध’ लाई आधार मानेर सजाय निर्धारित गरेको बताइएको छ।

फैसलापछि शेख हसिनाले कडा प्रतिक्रिया दिँदै निर्णयलाई “गलत, पक्षपाती र राजनीतिक रूपमा प्रेरित” भएको आरोप लगाएकी छन्। उनले अनिर्वाचित सरकारले सञ्चालन गरेको ट्रिब्युनलबाट यस्तो फैसला आएको दाबी गर्दै अवामी लिगलाई कमजोर पार्ने उद्देश्यले मुद्दा चलाइएको बताइन्। हसिनाले हालको सरकारका कारण देशमा प्रहरी र न्याय प्रणाली कमजोर बन्दै गएको र अल्पसंख्यक तथा विपक्षीहरूमाथि आक्रमण बढेको आरोप पनि लगाइन्।

यस घटनापछि बंगलादेशको राजनीतिक परिदृश्य थप तनावग्रस्त बनेको छ। हसिनाले आगामी निर्वाचन पूर्ण रूपमा स्वतन्त्र र निष्पक्ष हुनुपर्ने बताएकी छन् भने अन्तर्राष्ट्रिय समुदायले पनि घटनाक्रमलाई नजिकबाट हेरिरहेको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="