काठमाडौ,२ मंसिर । प्रमुख इन्टरनेट पूर्वाधार सेवा प्रदायक क्लाउडफ्लेयरमा उत्पन्न प्राविधिक गडबडीका कारण विश्वभरका वेबसाइटहरू प्रभावित भएका छन्। नेपालका पनि धेरै अनलाइन पोर्टल तथा सेवा प्रदायकहरू केही समयका लागि अवरुद्ध बनेका थिए।
सामाजिक सञ्जाल एक्स (पहिलेको ट्वीटर) सहित विभिन्न अन्तर्राष्ट्रिय प्लेटफर्म र नेपाली वेबसाइटहरूले ‘इन्टरनल सर्भर इरर’ जस्ता समस्या देखेका छन्।
क्लाउडफ्लेयर साइबर सुरक्षादेखि ट्राफिक व्यवस्थापनसम्मका महत्त्वपूर्ण सेवा उपलब्ध गराउने कम्पनी भएकाले यसको सानो त्रुटिले पनि हजारौं वेबसाइटमा प्रत्यक्ष असर पर्ने गर्दछ।
समस्या देखिएलगत्तै क्लाउडफ्लेयरले सार्वजनिक सूचना जारी गर्दै समस्याबारे आफूहरू अवगत रहेको र समाधानका लागि काम भइरहेको जनाएको हो।
कम्पनीले भनेको छ, “धेरै ग्राहकहरू प्रभावित हुनेगरी देखिएको समस्याबारे क्लाउडफ्लेयर अनुसन्धान गरिरहेको छ। यसको पूर्ण प्रभाव बुझ्न र समाधान गर्न हामी काम गरिरहेका छौं।”
प्राविधिक समस्याका कारण वेबसाइट अवरोध निगरानी गर्ने डाउन डिटेक्टर जस्तो साइट समेत केही समयका लागि प्रभावित भएको थियो।
नेपालमा रहेका कयौं समाचार पोर्टल, इ–कमर्स साइट र अनलाइन सेवाहरू पनि केही समय पूर्ण वा आंशिक रूपमा अवरुद्ध भएका थिए। तर क्लाउडफ्लेयरले समस्या समाधान प्रक्रिया सुरु गरेसँगै धेरै वेबसाइटहरू क्रमशः सामान्य अवस्थामा फर्किन थालेका छन्।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस