दाङ, २ मंसिर । दाङको तुलसीपुरमा दुईदिने नमुना युवा संसद अभ्यास सम्पन्न भएको छ। ज्ञान ज्योति माध्यमिक विद्यालयको आयोजना तथा द नेशनल युथ वेलफेयर नेपालको प्राविधिक सहयोगमा ‘ दोस्रो नमुना युवा संसद ज्ञानज्योति–२०८२’ सम्पन्न भएको हो।
विद्यालयका भाइस प्रिन्सिपल मनोज केसीको अध्यक्षता तथा लुम्बिनी प्रदेशसभा सदस्य धनबहादुर मास्कीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।
दुई दिनसम्म चलेको अभ्यासमा विद्यार्थीहरूले व्यवस्थापिका, न्यायपालिका र कार्यपालिका संयन्त्रका कानुनी प्रक्रिया, नीति निर्माण र कार्यान्वयनका विषयमा व्यवहारिक अभ्यास गरेका थिए।
कार्यक्रमको समापनका प्रमुख अतिथि मास्कीले विद्यार्थीलाई राजनीति राष्ट्रको मेरुदण्ड भएको बताउँदै यसप्रति बनेको नकारात्मक धारणामा परिवर्तन ल्याउन आग्रह गरे। “राजनीति फोहोरी खेल होइन, सेवा हो,” मास्कीले भने,- “समाज रूपान्तरण गर्ने शक्ति राजनीति र राजनीतिक दलहरूसँग हुन्छ।”
विद्यार्थीको सक्रियता र प्रस्तुतिको प्रशंसा गर्दै उनले थपे,“तपाईंहरू अहिले देखाइरहेको सीप र सोच नै भोलिका नेतृत्व क्षमता हुन्। राज्य, संसद र कानूनबारे यसरी व्यवहारिक अभ्यास गर्नु भनेको भविष्यको जिम्मेवारी लिन सिक्नु हो।”
उनले समाजमा राजनीति र दलप्रति नकारात्मक सोच बढे पनि विद्यार्थीले वास्तविकता पहिचान गर्नुपर्ने समय भएको बताए।
“कतिपय व्यक्तिको आचरणका कारण राजनीति बदनाम देखिए पनि यसको मूल उद्देश्य सधैं समाज परिवर्तन र नागरिकको सेवा हो,” उनले भने, -“देशलाई सही दिशामा लैजान सक्षम माध्यम राजनीति नै हो।”
मुलुकको संवैधानिक व्यवस्था, संसदको भूमिका र राज्यका जिम्मेवारीबारे विद्यार्थीले प्राप्त गरेको व्यवहारिक सिकाइप्रति प्रशंसा समेत गरेका थिए।
समाजका आवश्यकता पूरा गर्ने नेतृत्व राज्यलाई चाहिने र त्यो नेतृत्व यस्तै अभ्यासबाट सम्भव रहने उनको भनाइ थियो।
कानुन संकाय संयोजक सोमराज बस्नेतको स्वागत मन्तव्यबाट सुरु भएको समापन कार्यक्रमको सहजीकरण शिक्षक सन्तोष केसी र विद्यार्थी पारस ओलीले गरेका थिए।
दुई दिनसम्म सञ्चालन भएको उक्त नमुना संसद अभ्यास कार्यक्रमको प्रमुख प्रशिक्षकका रूपमा द नेसनल युथ वेल्फेयर नेपालका केन्द्रीय सदस्य इन्द्रबहादुर खत्री रहेका थिए।
कार्यक्रममा विभिन्न विधाहरूमा उत्कृष्टता हासिल गर्ने विद्यार्थीहरूलाई पुरस्कृत गरिएको थियो । उत्कृष्ट बहसकर्ताको रूपमा पुष्कर कठायत प्रथम, दिवस बिक द्वितीय र हरिस्मस राम्जा तृतीय घोषित भए।
उत्कृष्ट अनुसन्धानकर्तामा पुस्पा ओली प्रथम, प्रकृति बुढाथोकी द्वितीय र प्रमोद केसी तृतीय बने। नेतृत्वकर्तामा दिया केसी प्रथम, सन्देश घर्ती द्वितीय र अंकित ओली तृतीय भएका थिए।
कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष ओपेन्द्र बस्नेतले विद्यार्थीले देखाएको क्षमताले शिक्षामा गरिएको लगानी सफल भएको प्रमाण गरिएको बताए।
विद्यार्थी सन्देश घर्तीले कानुन निर्माण प्रक्रिया, छलफल तथा राजनीतिक अभ्यासबारे महत्वपूर्ण सिकाइ प्राप्त भएको अनुभव सुनाए।
विद्यालयका भाइस प्रिन्सिपल मनोज केसीले विद्यार्थीमा नेतृत्व तहमा पुग्ने क्षमता रहेको उल्लेख गर्दै कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको जानकारी दिए।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस