काठमाडौं,५ पुस । मधेश प्रदेशमा रिक्त सभामुख पदका लागि सात दलीय गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रदेशसभा सदस्य राम अशिष यादवले उम्मेदवारी दर्ता गराएका छन्।
उम्मेदवारी दर्ताका क्रममा प्रस्तावकमा नेपाली कांग्रेसका प्रदेशसभा सदस्य बिरेन्द्र प्रसाद सिंह र समर्थकमा नेकपा (माओवादी केन्द्र) का प्रदेशसभा सदस्य फकिरा महतो रहेका छन्।
मधेश प्रदेशसभाको सभामुख पदका लागि आज मनोनयन दर्ता प्रक्रिया सम्पन्न हुँदैछ भने भोलि निर्वाचन हुने कार्यतालिका तय गरिएको छ। सभामुख पदका उम्मेदवार यादव धनुषा निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट दोस्रो पटक प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्य हुन्।
गत मङ्सिर ३ गते तत्कालीन सभामुख रामचन्द्र मण्डललाई पदअनुकूल आचरण नगरेको आरोपमा सात दलीय गठबन्धनले दुई तिहाई बहुमतका आधारमा पदमुक्त गरेपछि सभामुख पद रिक्त भएको थियो।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस