after_navbar

दाङमा ब्राउन सुगरसहित तीन जना पक्राउ


३ घण्टा अगाडि


दाङ,७ पुस। दाङमा लागुऔषध ब्राउन सुगरसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

ad

पक्राउ पर्नेमा रुकुम (पूर्व) पुथा उत्तरगंगा गाउँपालिका–१२ का २६ वर्षीय सुजन परियार, नेपालगन्ज उपमहानगरपालिका–१ धम्बोजी बस्ने ३८ वर्षीय इमरान सिद्दिकी हलवाई र नेपालगन्ज–८ ज्वलाहापुर बस्ने ३८ वर्षीय नुरुद्दिन अन्सारी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डीएसपी चक्रबहादुर शाहका अनुसार उनीहरूलाई फरक–फरक समय र स्थानबाट पक्राउ गरिएको हो ।
सुजन परियारलाई सोमबार दिउँसो करिब २ बजे लमही नगरपालिका–५ स्थित बसपार्कबाट पक्राउ गरिएको हो ।

लागुऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा गरिएको चेकजाँचका क्रममा उनको साथबाट १३ ग्राम २९० मिलिग्राम परिमाणको दुई पुडिया ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ । परियारलाई दाङ जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

त्यसैगरी इमरान सिद्दिकी हलवाई र नुरुद्दिन अन्सारीलाई आइतबार दिउँसो करिब ४ बजे राप्ती गाउँपालिका–५ अन्तर्गत पूर्व–पश्चिम राजमार्गको कालापानी सडक खण्डबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरूको साथबाट ३१ ग्राम १६० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ बरामद गरिएको डीएसपी शाहले जानकारी दिए ।

दुवै जनालाई दाङ जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="