दाङ,८ पुस । उच्च अदालत तुलसीपुरले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा उपकुलपति नियुक्ति गर्ने सम्बन्धमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको सूचनालाई तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।
उच्च अदालत तुलसीपुरका न्यायाधीशद्वय दुर्गाबहादुर विश्वकर्मा र यज्ञबहादुर राना मगरको संयुक्त इजलासले स्वास्थ्य मन्त्रालयले मंसिर २५ गते उपकुलपति नियुक्तिका लागि जारी गरेको सूचना रोक्न अन्तरिम आदेश जारी गरेको हो ।
अदालतका सूचना अधिकारी कृष्णप्रसाद शर्माका अनुसार प्रतिष्ठानका निमित्त अस्पताल निर्देशक जनार्दन पन्थीले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै उक्त अन्तरिम आदेश जारी गरिएको हो । यसअघि पनि उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश राजेश्वर तिवारीको एकल इजलासले यस विषयमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।
प्रतिष्ठानका उपकुलपति डा. विकास लामिछानेले राजीनामा दिएपछि विगत तीन महिनादेखि प्रतिष्ठान उपकुलपतिविहीन अवस्थामा रहेको छ । उच्च अदालतको अन्तरिम आदेश निरन्तर रहँदा हाललाई उपकुलपति नियुक्ति प्रक्रिया रोकिएको छ ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस