after_navbar

गाई भैँसीका लागि निःशुल्क कृत्रिम गर्भाधान सेवा सुरु


२ घण्टा अगाडि


दाङ,८ पुस । दाङको तुलसीपुरमा गाई तथा भैँसीका लागि निःशुल्क कृत्रिम गर्भाधान सेवा सुरु गरिएको छ । तुलसीपुर उपमहानगरपालिका पशु सेवा शाखाको आयोजनामा सोमबार एक कार्यक्रमका बीच औपचारिक रूपमा उक्त सेवाको सुरु गरिएको हो ।

ad

पशुपालक कृषकको उत्पादन वृद्धि र आयआर्जनमा टेवा पुर्‍याउने उद्देश्यले सेवा सुरु गरिएको पशु सेवा शाखाका प्रमुख डा. मनोज ओलीले जानकारी दिए ।

उनका अनुसार तुलसीपुर उपमहानगरपालिका–१२ हरिपौरीस्थित किसान धनबहादुर बस्नेतको घरमा पालिएको एउटा भैँसीमा कृत्रिम गर्भाधान गरी सेवाको सुरुआत गरिएको हो ।

नगरपालिकाले किसानका लागि सकारात्मक कार्यक्रम ल्याएको भन्दै किसान धनबहादुर बस्नेतले राँगा पाल्नुपर्ने बाध्यताको अन्त्य भएकाले आफू निकै उत्साहित भएको बताए ।

कार्यक्रममा बोल्दै राष्ट्रिय पशुपालन तथा दूध उत्पादक कृषक समाज दाङका अध्यक्ष शसिराम बुढाथोकीले नगरपालिकाले वास्तविक किसानलाई प्रत्यक्ष राहत पुग्ने किसिमको कार्यक्रम ल्याएकोमा खुशी व्यक्त गरे ।

ठूला अनुदान कार्यक्रमहरू प्रायः बिचौलियाको हातमा पर्ने गरेको उल्लेख गर्दै उनले यो सेवा वास्तविक किसान बाहेक अरूले दुरुपयोग गर्न नसक्ने भएकाले प्रभावकारी हुने बताए ।

कार्यक्रमका प्रमुख अतिथि तुलसीपुर उपमहानगरपालिकाका मेयर टिकाराम खड्काले निःशुल्क कृत्रिम गर्भाधान सेवाले किसानलाई ठूलो सहजता प्रदान गर्ने विश्वास व्यक्त गरे ।

गाईभैँसीलाई अन्यत्र लैजानुपर्ने जोखिम अन्त्य भई घरआँगनमै सेवा उपलब्ध हुँदा सबै किसान लाभान्वित हुने उनको भनाइ थियो ।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवराज पार्धे, तुलसीपुर–१२ का वडाध्यक्ष खुसीराम चौधरी, वडा नम्बर ११ का वडाध्यक्ष मानबहादुर रावत, स्थानीय जनप्रतिनिधि, पशु सेवा शाखाका कर्मचारी तथा किसानहरूको उपस्थिति रहेको थियो ।

उपमहानगरपालिकाले पशुपालन क्षेत्रको विकास, आधुनिक प्रविधिको प्रयोग र पशु नश्ल सुधारका लागि कृत्रिम गर्भाधान सेवा निःशुल्क रूपमा उपलब्ध गराएको जनाएको छ । यस सेवाबाट स्थानीय कृषक लाभान्वित भई दूध तथा मासु उत्पादनमा वृद्धि हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="