काठमाडौँ,१० पुस । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले आगामी निर्वाचनमा उम्मेद्वार नबन्ने घोषणा गरेका छन्। बिहीबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकमा बोल्दै शर्माले लगातार तीन पटक उम्मेद्वार भइसकेकाले यसपटक अरू साथीहरूलाई अघि सार्ने निर्णय गरेको बताए।
उनले राजनीतिमा सधैं उम्मेद्वार बन्ने, हार्दा पनि क्षेत्र नछाड्ने र जीवनभर पदमै बसिरहने प्रवृत्ति गलत भएको बताए। यस्तो सोच परिवर्तन गर्न आवश्यक रहेको भन्दै यसपटक आफू उम्मेद्वार नबन्ने प्रस्ताव क्षेत्रका नेता कार्यकर्तासमक्ष राखेर आएको जानकारी दिए।
झापा–१ बाट शर्माको नाम सर्वसम्मत रूपमा सिफारिस भए पनि उनले त्यसका लागि धन्यवाद दिँदै आफू उम्मेद्वार नबन्ने अडान दोहोर्याए। गत निर्वाचनमा आफू क्षेत्रमा सीमित रहेको र यसपटक देशभर पार्टीका उम्मेद्वारहरूको पक्षमा प्रचारमा जाने उनले बताए।
यसअघि सभापति शेरबहादुर देउवासँगको भेटमा निर्वाचनअघि महाधिवेशन हुन नसके चुनाव लड्ने बताएका शर्माले अहिले भने उम्मेद्वार नबन्ने निर्णय सार्वजनिक गरेका हुन्।
शर्माले अर्का महामन्त्री गगन थापाले प्रस्ताव गरेको पुस २६ मै केन्द्रीय महाधिवेशन गर्ने प्रस्तावलाई समर्थन गरेका छन्। उनले वडा, क्षेत्र र प्रदेश अधिवेशन गरी तीन तहको अधिवेशन गर्ने गरी कार्यतालिका संशोधन गर्नुपर्ने बताए।
उनले हाल चुनावी वातावरण नबनेको भन्दै सर्वपक्षीय छलफल गरेर वैशाखमा निर्वाचन सार्न पार्टीले सरकारलाई सुझाव दिनुपर्ने बताए। फागुन २१ मा निर्वाचन सार्दा उठ्न सक्ने संवैधानिक प्रश्नलाई समाधान गर्न सातै प्रदेशका सात निर्वाचन क्षेत्रमा मात्र चुनाव गराएर बाँकी निर्वाचन वैशाखमा गर्न सकिने विकल्प पनि उनले सुझाए।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस