after_navbar

विदेशी नागरिकबाट कोकिन बरामदः तीन जना पक्राउ


३ घण्टा अगाडि



काठमाडौँ,१० पुस। हवाई मार्गबाट नेपाल प्रवेश गरेका विदेशी नागरिकको पेटमा लुकाइएको कोकिन बरामद भएको छ। अन्तर्राष्ट्रिय लागु औषध कारोबारी गिरोहको निगरानीका क्रममा प्रहरीले तीन जना विदेशी नागरिकलाई पक्राउ गरी कोकिन जस्तो देखिने सेतो पदार्थ बरामद गरेको हो।

ad

प्रहरीका अनुसार लाओसबाट थाइल्याण्ड हुँदै काठमाडौं आएकी ४० वर्षीया थाई नागरिक मिस रुसेनी कामालाई विशेष सूचनाका आधारमा सिनामंगलको एक होटलबाट फेला पारिएको थियो। खानतलासी गर्दा उनको साथबाट १२ वटा प्लास्टिकले बेरिएका क्याप्सुलभित्र कोकिन जस्तो देखिने सेतो पदार्थ बरामद भएको प्रहरीले जनाएको छ।

थप अनुसन्धानका क्रममा उनले मुखबाट निलेर पेटभित्र लुकाएको अन्य २९ वटा क्याप्सुल स्वास्थ्यकर्मीको सहयोगमा अस्पतालमा निकालेर बरामद गरिएको प्रहरीले जनाएको छ।

यसैगरी, लाओसबाट सिंगापुर हुँदै काठमाडौं आएका ५५ वर्षीय भारतीय नागरिक जाभिर र उनीसँगै रहेका २१ वर्षीय भारतीय नागरिक मुर्सालेन हुसेनलाई पनि प्रहरीले पक्राउ गरेको छ। उनीहरूको सुटकेसभित्र रहेको कफी प्याकेटमा लुकाइएका तीन केजी ७५० ग्राम कोकिन जस्तो देखिने पदार्थ बरामद भएको छ।

पक्राउ परेका तीनै जनामाथि लागु औषध नियन्त्रण ऐन २०३३ अनुसार काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

नेपाल प्रहरीले अन्तर्राष्ट्रिय लागु औषध कारोबारी गिरोहविरुद्ध निगरानी अझ कडा बनाउने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="