दाङ,११ पुस। दाङको तुलसीपुरमा जारी ‘प्रथम तुलसीपुर महोत्सव’को आठौँ दिन आज पनि उल्लेख्य संख्यामा दर्शक सहभागी हुने अनुमान गरिएको छ। आज चर्चित गायक प्रकाश सपुतको प्रस्तुति रहने भएकाले महोत्सवस्थलमा विशेष चहलपहल देखिने अपेक्षा आयोजकले गरेका छन्।
आजको कार्यक्रममा प्रकाश सपुतसँगै गायक सागर वली, गायिका कालिका राना, नृत्यांगना सावित्रा वलीलगायत कलाकारहरूले आकर्षक प्रस्तुति दिने आयोजकले जनाएको छ।
पुस ४ गतेदेखि सुरु भएको महोत्सवमा दैनिक रूपमा दर्शकको उपस्थिति बढ्दै गएको छ। बिहीबार अत्यधिक दर्शकको आगमन हुँदा व्यवस्थापनमा समेत चुनौती देखिएको थियो। महोत्सव मूल आयोजक समितिका संयोजक लालबहादुर केसीले दर्शकको उल्लेख्य सहभागितासँगै कारोबारसमेत बढेको जानकारी दिए।
‘स्थानीय उत्पादनलाई प्रवर्द्धन गरौँ, औद्योगिक वातावरणको सुधार गरौँ, दिगो अर्थतन्त्रको आधार बनाऔँ’ भन्ने मूल नाराका साथ सञ्चालन भइरहेको महोत्सव पुस १९ गतेसम्म चल्नेछ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरको आयोजनामा भइरहेको महोत्सव तुलसीपुरको घोराहीरोडस्थित ओम शान्ति सिनेमा हलको पूर्वतर्फ रहेको खुला मैदानमा सञ्चालन भइरहेको छ। महोत्सवस्थलमा बाल उद्यान, जलपरी, लण्डन ब्रिजलगायत संरचनाहरू दर्शकका प्रमुख आकर्षण बनेका छन्।
दैनिक रूपमा दर्शक संख्या बढ्दै जाँदा महोत्सवमा सहभागी व्यवसायीहरू पनि उत्साहित देखिएका छन्। महोत्सव मूल आयोजक समितिका सदस्य सचिव भद्रबहादुर वलीका अनुसार रुकुम पश्चिमको सिस्नोदेखि दाङको ढिग्रीसम्मका स्थानीय उत्पादनहरूको माग अत्यधिक रहेको छ। पछिल्ला दिनहरूमा दर्शकको सहभागिता अझै बढ्दै गएको र त्यसले व्यवसायिक गतिविधिलाई थप उत्साह दिएको उनले बताए।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस