अर्घाखाँची,१२ पुस। अर्घाखाँचीको शितगंगा नगरपालिकामा वेवारिसे अवस्थामा विभिन्न प्रकारका हातहतियार तथा विष्फोटक पदार्थ फेला परेका छन्।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डिएसपी दिवस जिसीको कमान्डमा खटिएको गस्ती टोलीले बिहीबार शितगंगा नगरपालिका–११ बोक्सेमा ती सामग्री बरामद गरेको हो। ग्रामीण गस्तीका क्रममा बोक्सेमा रहेको पुरानो, कोही नबस्ने गोठ (थारो) भित्र लुकाइएका अवस्थामा हतियार तथा विष्फोटक फेला परेका प्रहरीले जनाएको छ।
बरामद सामग्रीमा भरुवा बन्दुक २ थान, ग्रिनेट १४ थान, डेटोनेटर १२ थान, करिब २५ इन्च लामो प्लास्टिकको पाइपबाट बनेको लन्चर जस्तो देखिने पदार्थ ३ थान, ५ लिटरको प्रेसर कुकर बम १ थान, स्टिलको डल्लु बम १ थान, विद्युतीय तार ४ बण्डल र करिब ५०० ग्राम बारुद रहेको डिएसपी जिसीले जानकारी दिनुभयो।
भरुवा बन्दुक २ थान बाहेक अन्य सबै विष्फोटक पदार्थ नेपाली सेनाको सहयोगमा सुरक्षित रूपमा डिस्पोज गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस