काठमाडौँ,१२ पुस। प्रहरीले प्रतिबन्धित लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । उदयपुरको चौदण्डीगढी नगरपालिकाबाट प्रहरीले ठूलो परिमाणको गाँजा सहित कारोबार गर्ने व्यक्तिहरुलाई पक्राउ गरेको हो । शनिबार चौदण्डीगढी नगरपालिका–३ स्थित पैतालिस चौकमा चेकजाँचका क्रममा गाँजा बोकेको बोलेरो गाडीसहित उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
उदयपुरका प्रहरी प्रमुख एसपी राजन चापागाईंका अनुसार चौदण्डीगढीबाट गाईघाटतर्फ जाँदै गरेको को।१ ज ३४५६ नम्बरको बोलेरो गाडीलाई रोकेर जाँच गर्दा गाडीभित्र ३० वटा बोरामा लुकाइछिपाइ राखिएको ७६३।७०० किलोग्राम लागूऔषध गाँजा बरामद गरिएको हो।
गाँजा तस्करीमा संलग्न बोलेरो चालक बेलका नगरपालिका–६ निवासी रविन कुमार राई र गाडीमा सवार बेलका नगरपालिका–९ निवासी रामबहादुर राईलाई घटनास्थलबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानअनुसार उदयपुरको बाटो प्रयोग गरी गाँजा अन्य जिल्लातर्फ ओसारपसार गर्ने उद्देश्य रहेको हुन सक्ने प्रहरीको अनुमान छ।एसपी चापागाईंले लागूऔषध ओसारपसारविरुद्ध जिल्लाभर कडाइका साथ निगरानी बढाइएको बताए। उनले लागूऔषधले समाजमा गम्भीर असर पार्ने भएकाले यसको नियन्त्रणमा प्रहरी प्रतिबद्ध रहेको स्पष्ट पारे।
बरामद गरिएको गाँजा, बोलेरो गाडी तथा पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय बेल्टारमा राखी थप अनुसन्धान भइरहेको छ। उनीहरूविरुद्ध लागूऔषधसम्बन्धी मुद्दामा आवश्यक कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ। पछिल्लो समय धनकुटा, भोजपुर र खोटाङजस्ता पूर्वी पहाडी जिल्लामा उत्पादन हुने गाँजा सुनसरी र उदयपुरको बाटो हुँदै भारततर्फ तस्करी हुने क्रम बढ्दै गएको प्रहरीको भनाइ छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस