after_navbar

सरस्वती माविको ४५औँ वार्षिकोत्सव सम्पन्न


पुष १३, २०८२


दाङ, १३ पुस । दाङको घोराही उपमहानगरपालिका–५ भरतपुरमा रहेको सरस्वती माध्यमिक विद्यालय काठेकोलले आइतबार एक कार्यक्रमका बीच आफ्नो ४५औँ वार्षिकोत्सव मनाएको छ।

ad

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विवेक श्रेष्ठको सभापतित्व तथा घोराही उपमहानगरपालिकाकी उपप्रमुख हुमाकुमारी डिसीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रमकी प्रमुख अतिथि उपप्रमुख डिसीले घोक्ने र गृहकार्य सार्ने विद्यार्थीभन्दा युगसापेक्ष सिर्जनात्मक सोच भएका विद्यार्थी आजको समाज र देशले खोजिरहेको बताइन्। उनले शिक्षकहरूलाई विद्यार्थीलाई सिर्जनात्मक बनाउने शिक्षण विधिमा जोड दिन आग्रह गरिन्। अरू सबै गलत र आफू मात्रै सही भन्ने प्रवृत्ति समाजमा बढ्दै गएको उल्लेख गर्दै उनले विचारशील र नवीन सोच भएका नागरिक उत्पादन गर्नुपर्नेमा जोड दिइन्।

विद्यालय बजारको केन्द्रमा रहे पनि अपेक्षाअनुसारको विकास हुन नसकेको बताउँदै उनले विद्यालयको शैक्षिक तथा भौतिक विकासका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक खिमप्रकाश पुरीले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए। प्रतिवेदनमा विद्यालयको समग्र अवस्था, विद्यमान समस्या, समाधानका उपाय तथा आगामी रणनीतिहरू समेटिएको थियो। सबैको साझा प्रयासबाट विद्यालयलाई गुणस्तरीय शिक्षा र समग्र विकासको दिशामा अघि बढाइने प्रतिबद्धता उनले बताए।

सहायक प्रधानाध्यापक प्रकाश डाँगीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा चन्दादाता तथा समाजसेवी शंकर गौतम, अक्षयकोषदाता हरिप्रसाद सुवेदी जरा, पद्मोदय पब्लिक नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक लोकबहादुर बस्नेत, बाल विकास माध्यमिक विद्यालयका प्रधानाध्यापक खिमबहादुर बुढा, शिक्षक अभिभावक संघका अध्यक्ष दिपबहादुर खत्री, विद्यालयका निवर्तमान प्रधानाध्यापक बसन्ता पौडेल, सूचना अधिकारी कुलशेखर शर्मा, प्लस–टु संयोजक शम्शेर नेपाली, आईटी संयोजक लक्ष्मण गिरीलगायतले शुभकामना मन्तव्य व्यक्त गरे।

वक्ताहरूले अभिभावक, शिक्षक र विद्यार्थीको साझा प्रयासबाट मात्र शिक्षाको गुणस्तर वृद्धि गर्न सकिने बताए। घोराही बजारको केन्द्रमा रहेको विद्यालयको चौतर्फी विकासका लागि सबै एकजुट हुनुपर्नेमा उनीहरूको जोड थियो।

कार्यक्रमको सहजीकरण विद्यालयका शिक्षक हेमराज शर्माले गरेका थिए।

वार्षिकोत्सवका अवसरमा गत शैक्षिक सत्रमा विभिन्न कक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो। साथै विभिन्न चन्दादाताद्वारा स्थापना गरिएका अक्षयकोषबाट विभिन्न विधामा उत्कृष्ट विद्यार्थीहरूलाई नगद पुरस्कार प्रदान गरिएको थियो। वार्षिकोत्सवका अवसरमा आयोजित अतिरिक्त क्रियाकलापमा उत्कृष्ट हुने विद्यार्थीहरूलाई पुरस्कार, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="