after_navbar

तुलसीपुर महोत्सवमा प्रकाश दुतराजको धमाकेदार प्रस्तुति


पुष १३, २०८२


दाङ, १३ पुस । दाङको तुलसीपुरमा जारी ‘प्रथम तुलसीपुर महोत्सव’को दशौँ दिन पनि उल्लेख्य संख्यामा दर्शकको सहभागिता देखिएको छ। विशेषगरी चर्चित गायक प्रकाश दुतराजको सांगीतिक प्रस्तुति हेर्न दर्शकको बाक्लो उपस्थिति रहेको थियो। उनको प्रस्तुति हेर्नकै लागि महोत्सवस्थलमा विशेष चहलपहल देखिएको थियो।

ad

गायक दुतराजले सालैजो, रेलिमै, घर कता हो बैनीको, छैन र माया, बैनी झ्यालैमा, जाम भो माइलीलगायत दर्जनौँ लोकप्रिय गीतहरू प्रस्तुत गरेका थिए। उनको सशक्त गायनसँगै दर्शकले हुटिङ गर्दै नाचगान गरेर भरपूर साथ दिएका थिए। प्रकाशको प्रस्तुति हेर्न छिमेकी जिल्ला सल्यानका विभिन्न स्थानबाटसमेत दर्शकहरू महोत्सवस्थलमा पुगेका थिए।

कार्यक्रममा प्रकाश दुतराजसँगै गायक कलावती केसी, थम्मन भण्डारीलगायत अन्य कलाकारहरूको पनि प्रस्तुति रहेको थियो।

पुस ४ गतेदेखि सुरु भएको महोत्सवमा दैनिक रूपमा दर्शक संख्या बढ्दै गएको छ। महोत्सव मूल आयोजक समितिका संयोजक लालबहादुर केसीका अनुसार दर्शकको उल्लेख्य सहभागितासँगै व्यापारिक कारोबारसमेत वृद्धि भएको छ।

‘स्थानीय उत्पादनलाई प्रवर्द्धन गरौँ, औद्योगिक वातावरणको सुधार गरौँ, दिगो अर्थतन्त्रको आधार बनाऔँ’ भन्ने मूल नारासहित सञ्चालन भइरहेको महोत्सव पुस १९ गतेसम्म चल्नेछ। नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरको आयोजनामा भइरहेको महोत्सव तुलसीपुर–घोराही सडकखण्डस्थित ओम शान्ति सिनेमा हलको पूर्वतर्फको खुला मैदानमा सञ्चालन भइरहेको छ।

महोत्सवस्थलमा बाल उद्यान, जलपरी, लण्डन ब्रिजलगायत संरचनाहरू दर्शकका प्रमुख आकर्षण बनेका छन्। दर्शक संख्या बढेसँगै महोत्सवमा सहभागी व्यवसायीहरू पनि उत्साहित देखिएका छन्। महोत्सव मूल आयोजक समितिका सदस्य सचिव भद्रबहादुर वलीका अनुसार रुकुम पश्चिमको सिस्नोदेखि दाङको ढिग्रीसम्मका स्थानीय उत्पादनहरूको माग अत्यधिक रहेको छ। पछिल्ला दिनहरूमा दर्शकको सहभागिता अझै बढ्दै गएको र त्यसले व्यवसायिक गतिविधिलाई थप गति दिएको उनले बताए।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="