दाङ, १५ पुस । काठमाडौंबाट चोरी भई दाङ ल्याइएको ६४ लाख ८१ हजार रुपैयाँ नगद प्रहरीले तुलसीपुर उपमहानगरपालिका–६ गोलौराबाट बरामद गरेको छ। उक्त रकमसहित २४ वर्षीय दुर्गाबहादुर केसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
चोरी भएको स्थानमा जडान गरिएको सिसिटिभी फुटेज र प्राप्त गोप्य सूचनाका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको थियो। फुटेजबाट पहिचान भएपछि इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी होमबहादुर पराजुली नेतृत्वको टोलीले केसीको घर यकिन गर्दै निगरानी सुरु गरेको जनाएको छ।
प्रहरीले रातभर घरभन्दा केही टाढाबाट गोप्य निगरानी गरेपछि मंगलबार बिहान घरमा खानतलासी गरेको थियो। सो क्रममा लुकाइछिपाइ राखिएको ठूलो परिमाणको नगद फेला परेको हो। विद्युत भोल्टेजको समस्याका कारण मेसिनले गन्न नसकेपछि हातैले गणना गर्दा रकम ६४ लाख ८१ हजार रुपैयाँ रहेको पुष्टि भएको प्रहरीले जनाएको छ।
पेशाले प्लम्बर रहेका केसी सोमबार साँझ मात्र काठमाडौंबाट घर फर्किएको खुलेको छ। प्रारम्भिक अनुसन्धानमा उनले काठमाडौंको विशालनगरस्थित एक निजी घरबाट नगद चोरी गरेको स्वीकार गरेको प्रहरी स्रोतले जनाएको छ। हाल घटनाबारे थप अनुसन्धान भइरहेको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस