दाङ,१६ पुस । यतिबेला दाङको तुलसीपुरमा प्रथम तुलसीपुर महोत्सव २०८२ जारी रहेको छ। स्थानीय उत्पादनको प्रवर्द्धन, घरेलु तथा साना उद्योगको विकास तथा औद्योगिक वातावरणको सुधार गर्दै दिगो अर्थतन्त्रको आधार निर्माण गर्ने उद्देश्यका साथ सञ्चालन भइरहेको महोत्सवमा प्रत्येक दिन सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरू सञ्चालन हुँदै आइरहेका छन्। दैनिक जसो राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहँदै आएको छ । सोही अन्तर्गत आज पनि राष्ट्रिय तथा स्थानीय कलाकारहरूको बेजोट प्रस्तुति रहने मूल आयोजक समितिले जनाएको छ।
आयोजकका अनुसार आजको कार्यक्रमको मुख्य आकर्षणका रूपमा चर्चित गायिका ज्योति मगर र सम्झना रणपालको विशेष सांगीतिक प्रस्तुति रहनेछ। यस्तै, गायक कमल बि.सी. (माल्दाइ) ले आफ्ना लोकप्रिय लोक तथा आधुनिक गीतहरू प्रस्तुत गर्दै दर्शकलाई झुमाउनेछन्।
कार्यक्रममा कलाकार आरूषी मगर, चाहना झाँक्री र चिरञ्जीवी डाँगीको आकर्षक प्रस्तुति रहनेछ।
नृत्यतर्फ सोनी डान्स ग्रुप सहित प्राकृतिक कला केन्द्र, दोभान कला केन्द्र, The Dance Hub, Kaizan Dance Academy र RN Dance Studioका नृत्य समूहहरूले सामूहिक नृत्य प्रस्तुत गर्दै महोत्सवको मञ्चलाई थप रंगीन बनाउने आयोजकले जनाएको छ साथै कार्यक्रमको उद्घोषण सान्तराम सेन्चुरीले गर्नेछन्।
महोत्सवमा लोकदोहोरी, सामूहिक लोकनृत्य प्रतियोगिता तथा स्थानीय कलाकारहरूको निरन्तर प्रस्तुति भइरहेको छ। साथै बालबालिकाका लागि मनोरञ्जनात्मक खेलहरू, लण्डन गेट, जलपरी, चर्खे पिङ, ढुंगा पिङ लगायतका थुप्रै संरचनाले पनि दर्शकको ध्यान तानेका छन्।
महोत्सव मूल आयोजक समितिका संयोजक लाल बहादुर केसीले भने- “महोत्सवले स्थानीय उद्यम, घरेलु तथा साना उद्योगको प्रवर्द्धनसँगै कला र संस्कृतिको संरक्षणमा महत्वपूर्ण भूमिका खेलेको छ। दर्शकको उल्लेख्य सहभागिताले हामी थप उत्साहित भएका छौँ।”
त्यसैगरी, महोत्सव मूल आयोजक समितिका सदस्य सचिव भद्र बहादुर वलीले कलाकारहरूको प्रस्तुतिका कारण चिसो मौसमका बाबजुद दर्शकको उपस्थिति उल्लेख्य रहेको बताए।उनले भने- “दर्शकको उत्साह र व्यापारीको सक्रियताले महोत्सवले तुलसीपुरको आर्थिक गतिविधिलाई थप चलायमान बनाएको छ।”
महोत्सव अवलोकन गर्न पुगेका दर्शक मेघराज आचार्य ले मेलाको आफ्नो अनुभव यसरी व्यक्त गरे,
“एकै ठाउँमा राम्रा कलाकारको प्रस्तुति, मनोरञ्जनात्मक खेल र स्थानीय उत्पादन हेर्न पाउँदा निकै रमाइलो लागेको छ। परिवारसहित घुम्न आउन लायक महोत्सव रहेछ। आज सहित म ५ औँ दिन मेलामा आईसके”
नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुर, दाङको आयोजनामा तथा तुलसीपुर उपमहानगरपालिकाको संरक्षणमा सञ्चालन भइरहेको महोत्सव पुस ४ गतेदेखि पुस १९ गतेसम्म तुलसीपुर–६ घोराही रोडस्थित शान्ति सिनेमा हलको पूर्वतर्फको खुल्ला मैदानमा सञ्चालन भइरहेको छ।
आयोजकले बाँकी दिनहरूमा पनि राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहने जनाउँदै महोत्सव अवलोकनका लागि सर्वसाधारणलाई आग्रह गरेका छन्।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस