after_navbar

अमेरिकी सैन्य कारवाहीमा भेनेजुएलामा कम्तीमा ४० जनाको मृत्यु


पुष २०, २०८२


काठमाडौँ,२०पुस। अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गर्ने उद्देश्यले सञ्चालन गरेको सैन्य कारवाहीका क्रममा कम्तीमा ४० जनाको मृत्यु भएको द न्युयोर्क टाइम्सले जनाएको छ। एक वरिष्ठ भेनेजुएलाली अधिकारीका अनुसार शनिबार सबेरै भएको अमेरिकी आक्रमणमा सैन्य कर्मचारी र सर्वसाधारण नागरिकसहित कम्तीमा ४० जनाको ज्यान गएको हो।

ad

यसैबीच, शनिबार फक्स न्यूजसँगको अन्तर्वार्तामा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उक्त कारवाहीमा कुनै पनि अमेरिकी सैनिकको मृत्यु नभएको दाबी गरे। यद्यपि, केही सैनिक घाइते भएको संकेत भने गरेका थिए।

अमेरिकी सेनाका सर्वोच्च अधिकृत, जोइन्ट चिफ अफ स्टाफका अध्यक्ष जनरल ड्यान केनले मार–ए–लागोमा राष्ट्रपति ट्रम्पसँग आयोजित पत्रकार सम्मेलनमा निकोलस मादुरो र उनकी पत्नीलाई पक्राउ गर्न गएका अमेरिकी हेलिकप्टरहरूमाथि गोली प्रहार भएको जानकारी दिए। उनका अनुसार एउटा हेलिकप्टरमा क्षति पुगे पनि उडानयोग्य नै रहेको र सबै अमेरिकी विमानहरू सुरक्षित रूपमा फर्किएका छन्।

अमेरिकी आक्रमणपछि भेनेजुएलाको राजधानी काराकासस्थित विमानस्थलको पश्चिमतर्फ रहेको न्यून आय भएको तटीय क्षेत्र काटिया ला मारमा एक नागरिकको मृत्यु भएको विवरण बाहिर आएको थियो। शनिबार सबेरै गरिएको हवाई आक्रमणका क्रममा तीनतल्ले नागरिक अपार्टमेन्ट परिसरको बाहिरी पर्खाल भत्किएको थियो।

उक्त आक्रमणमा ८० वर्षीया रोजा गोन्जालेजको मृत्यु भएको र अर्का एक व्यक्ति गम्भीर घाइते भएको बताइएको छ। शनिबार दिउँसो सरकारी अनुसन्धानकर्मीहरू घटनास्थलमा पुगेर साक्षीहरूसँग बयान लिने तथा विस्फोटकका अवशेषहरू संकलन गर्ने कार्यमा संलग्न थिए।

गोन्जालेजका भतिजा विल्म्यान गोन्जालेजले बिहान करिब २ बजे आक्रमणको आवाज सुनेपछि आफूले टाउको निहुराएको तर त्यस क्रममा एउटा आँखा गम्भीर रूपमा घाइते भएको बताए। उनको अनुहारको एक भागमा तीनवटा टाँका लगाइएको थियो।

केही घण्टापछि स्तब्ध अवस्थामा रहेका गोन्जालेजले पत्रकारहरूलाई अमेरिकी हतियारले प्रहार गरेको स्थान देखाउँदै आफ्नो घर पूर्ण रूपमा ध्वस्त भएको बताए। अब कहाँ जाने भन्ने प्रश्नमा उनले आफूलाई केही थाहा नभएको प्रतिक्रिया दिए।

आक्रमणले अपार्टमेन्टको भित्री भाग पूर्ण रूपमा नष्ट भएको थियो। भग्नावशेषबीच भेनेजुएलाका स्वतन्त्रता संग्रामका नायक सिमोन बोलिभरको तस्बिर छर्राले क्षतविक्षत अवस्थामा देखिएको थियो।

आफ्नो थर बताउन अस्वीकार गरेका ७० वर्षीय छिमेकी जर्जले हवाई आक्रमणमा आफ्नो सबै थोक गुमाएको बताए। शनिबार दिउँसो धेरै बासिन्दा बाहिर भेला भएका थिए भने केहीले अपार्टमेन्टभित्र बाँकी रहेका सामान खोजिरहेका थिए। अधिकांश मानिसहरू त्रसित र मौन देखिन्थे।

कतिपय बासिन्दा प्रार्थनामा जुटेका थिए भने केही आक्रोशित देखिन्थे। हाभियर नाम बताउने एक स्थानीयले भेनेजुएलामाथिको आक्रमणलाई लोभको परिणाम भन्दै अमेरिकी कम्पनीहरूलाई तेल क्षेत्र नियन्त्रणमा दिन ट्रम्प प्रशासनले देखाएको इच्छाको आलोचना गरे। उनले आफूहरूजस्ता सर्वसाधारणको जीवनको कुनै मूल्य नरहेको टिप्पणी गरे।

स्थानीय बासिन्दाका अनुसार हवाई आक्रमणपछि चार जना पुरुषले रोजा गोन्जालेजलाई उद्धार गरी मोटरसाइकलमार्फत अस्पताल पुर्‍याएका थिए। तर अस्पताल पुगेपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। आक्रमणमा घाइते भएकी अर्की एक महिलाको अवस्था गम्भीर रहेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="