after_navbar

१० लाखभन्दा बढी अवैध नगदसहित एक जना पक्राउ


पुष २७, २०८२


काठमाडौं,२७ पुस । सशस्त्र प्रहरीले स्रोत नखुलेको १० लाखभन्दा बढी नगद रकमसहित एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।

ad

सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म मुख्यालय इनर्वा, सिरहाबाट खटिएको टोलीले आज करिब १ बजेको समयमा भगवानपुर गाउँपालिका–४ ठाडीस्थित दशगजा इलाकानजिक चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेका एक युवकलाई नियन्त्रणमा लिएको जनाएको छ ।

सशस्त्र प्रहरीका अनुसार नियन्त्रणमा पर्ने व्यक्ति भगवानपुर गाउँपालिका–३ मरिकटोल निवासी २४ वर्षीय देवनाथ यादव हुन् । चेकजाँचका क्रममा यादवको साथबाट स्रोत नखुलेको नेपाली रुपैयाँ १० लाख तीन हजार नौ सय ९० रुपैयाँ नगद बरामद गरिएको प्रहरीले जनाएको छ ।

उनको साथमा प्रयोग गरिएको एक थान मोटरसाइकल र एक थान मोबाइल फोनसमेत बरामद गरिएको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।

नियन्त्रणमा लिइएका व्यक्ति तथा बरामद नगद र सामग्री आवश्यक कारबाहीका लागि सम्बन्धित भन्सार कार्यालय बुझाउने प्रक्रिया अगाडि बढाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

यस विषयमा सशस्त्र प्रहरी बल सिरहाका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक नरेश भण्डारीले सीमा क्षेत्रमा अवैध रकमको ओसारपसार नियन्त्रण गर्न निगरानी र सुरक्षा जाँच थप कडाइ गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="