दाङ । राष्ट्रिय सभा सदस्यका लागि आज मतदान हुँदै छ। आगामी फागुन २० गते पदावधि समाप्त हुने सदस्यहरूको स्थान पूर्तिका लागि माघ ११ गते मतदान हुन लागेको हो।
निर्वाचन आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपानेका अनुसार १७ सिटका लागि निर्वाचन हुँदैछ। सात वटै प्रदेशका राजधानी रहेका जिल्लामा मतदान केन्द्र तोकिएको छ। आयोगका अनुसार मतदान बिहान ८ बजेदेखि सुरु हुनेछ।
कोशी प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय विराटनगरमा, मधेश प्रदेशका लागि महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्र जनकपुरमा र बागमती प्रदेशका लागि भुटनदेवी माध्यमिक विद्यालय हेटौँडामा मतदान केन्द्र तोकिएको छ।
त्यसैगरी गण्डकी प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर पोखरा, लुम्बिनी प्रदेशका लागि कर्मचारी मिलन केन्द्र घोराही, कर्णाली प्रदेशको प्रदेश निर्वाचन कार्यालय वीरेन्द्रनगर तथा सुदूरपश्चिम प्रदेशको प्रदेश निर्वाचन कार्यालय धनगढीमा मतदान केन्द्र निर्धारण गरिएको छ।
निर्वाचनमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीले उम्मेदवारी दर्ता गराएका छन्।
आयोगका अनुसार सात वटै प्रदेशमा गरी कुल २ हजार ३८ मतदाता रहेका छन्। तर, केही स्थानीय तहका पदाधिकारीले राजीनामा दिई आमनिर्वाचनमा सहभागी हुन लाग्दा रिक्त भएका पदाधिकारीहरूको नामसमेत मतदाता नामावलीमा समेटिएको छ।
राष्ट्रिय सभाका सदस्यहरूमध्ये प्रत्येक दुई वर्षमा एक तिहाइ सदस्यको पदावधि समाप्त हुने व्यवस्था छ। सभाका सदस्यको कार्यकाल छ वर्षको हुने व्यवस्था अनुसार २०७६ फागुनमा निर्वाचित एक तिहाइ सदस्यको पद रिक्त हुन लागेको हो।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस