दाङ, ११ माघ । राजनीतिक वैकल्पिको रूपमा चर्चामा रहेको कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीभित्र आन्तरिक असन्तुष्टि सतहमा आएको छ।
उज्यालो नेपाल पार्टी (उनेपा) का १५ जना संस्थापक नेताहरूले सामूहिक विज्ञप्ति जारी गर्दै पार्टीबाट अलग भएको बताएका हुन्। डा. विशाल भण्डारी, निर्देश सिलवाल, डा. अभिषेकराज सिंह, सञ्जीव भट्टराईलगायत नेताहरूले पार्टीसँगको सम्बन्ध अन्त्य भएको स्पष्ट पारेका छन्।
विज्ञप्तिमा उनीहरूले विचार, मूल्य र नागरिक सरोकारका आधारमा स्वतन्त्र रूपमा सक्रिय रहने जनाएका छन्। ‘हामी उज्यालो नेपाल पार्टीबाट अलग भएको घोषणा गर्दछौं। यसलाई कुनै दलप्रति समर्थन वा विरोधका रूपमा नभई नागरिक चेतना र साझा हितको अभ्यासका रूपमा बुझिदिन अनुरोध गर्दछौं,’ विज्ञप्तिमा उल्लेख छ।
पार्टीबाट अलग भएको बताउने अन्य नेताहरूमा सुजन श्रेष्ठ, कुशुम घिमिरे, डा. घनश्याम पाण्डे, क्षितिज भण्डारी, डा. सागर ढकाल, नेत्र कार्की, विशाल गैरे, सरला लामिछाने, मीनराज आचार्य, रजिया बानु र देवेन्द्र श्रेष्ठ रहेका छन्।
अलग हुनेमध्ये केही नेताहरू विवेकशील साझा पार्टीको पृष्ठभूमिबाट आएका हुन्। सामूहिक रूपमा जारी गरिएको विज्ञप्तिमा उनीहरूले वैकल्पिक राजनीति र नागरिक सरोकारलाई निरन्तर प्राथमिकतामा राख्ने संकेत गरेका छन्।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस