दाङ,१३ माघ । सरकारले यस वर्ष पनि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपीभी) खोप बालिका तथा किशोरीलाई लगाउने भएको छ।
स्वास्थ्य सेवा विभाग अन्तर्गतको बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमका अनुसार यही महिनाको तेस्रो सातादेखि देशव्यापी अभियानका रूपमा एचपीभी खोप सञ्चालन गरिनेछ।
खोप अभियानअन्तर्गत यस वर्ष विद्यालय भर्ना भएका कक्षा ६ मा अध्ययनरत छात्रा तथा विद्यालय भर्ना नभएका १० वर्ष उमेर समूहका बालिकालाई खोप लगाइनेछ। साथै, कक्षा ६ मा अध्ययनरत ११ र १२ वर्ष उमेरका छात्राले पनि खोप पाउनेछन्। फागुनको पहिलो हप्तासम्म लक्षित सबै किशोरी तथा बालिकालाई खोप लगाइसक्ने तयारी रहेको डा। गौतमले जानकारी दिए।
हाल खोप लगाउने स्वास्थ्यकर्मीलाई तालिम प्रदान गर्ने कार्य भइरहेको उनले बताए। गत वर्ष सरकारले माघ २२ देखि फागुन ६ गतेसम्म देशभर कक्षा ६ देखि १० सम्म अध्ययनरत तथा विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका करिब १७ लाख किशोरीलाई एचपीभी खोप लगाएको थियो। गत वर्ष खोप लगाउन छुटेका ११ देखि १४ वर्ष उमेर समूहका बालिकालाई पनि यस वर्ष खोप प्रदान गरिने शाखा प्रमुख गौतमले बताए।
यस वर्ष करिब तीन लाख ५० हजार बालबालिकालाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप लगाइने अनुमान छ। उक्त खोप ‘भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स’ (गाभी)को सहयोगमा चीनबाट नेपाल ल्याइएको हो।
नेपालमा प्रत्येक वर्ष पाठेघरको मुखको क्यान्सरका कारण चार महिलाको मृत्यु हुने गरेको तथ्यांक छ। यस क्यान्सरको मुख्य कारण ह्युमन पापिलोमा भाइरस सङ्क्रमण भएकाले त्यसको रोकथामका लागि एचपीभी खोप प्रभावकारी मानिन्छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस