सुर्खेत,२५ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कर्णाली प्रदेशका १० वटै जिल्लाको प्रत्यक्ष (पहिलो हुने निर्वाचित हुने) निर्वाचन प्रणालीअन्तर्गतको मतपत्र छपाइ सकिएको छ।
निर्वाचन आयोगका अनुसार शुक्रबारसम्म देशभरका कुल ८४ लाख ४० हजार मतपत्र छपाइ सम्पन्न भइसकेको छ। यसमध्ये कर्णाली प्रदेशका १० जिल्लाका १२ वटै निर्वाचन क्षेत्रका मतपत्र छपाइ तथा प्याकिङको काम पूरा भएको आयोगले जनाएको छ।
आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार डोल्पा, मुगु, जुम्ला, कालीकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम ९पश्चिम०, सल्यान र सुर्खेतका लागि आवश्यक मतपत्र छपाइ तथा प्याकिङ सम्पन्न भइसकेको छ।
कर्णाली प्रदेशमा प्रतिनिधिसभाका कुल १२ वटा निर्वाचन क्षेत्र छन्। ती क्षेत्रमा १३१ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन्। सुर्खेत र दैलेखमा दुई–दुई निर्वाचन क्षेत्र रहेका छन् भने बाँकी आठ जिल्लामा एक–एक निर्वाचन क्षेत्र रहेको प्रवक्ता भट्टराईले जानकारी दिए।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस