after_navbar

प्रतिनिधिसभा निर्वाचन: ४४ जिल्लाका मतपत्र छपाइ सम्पन्न


१४ घण्टा अगाडि


काठमाडौँ ,२६ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ४४ जिल्लाका १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ।

ad

निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार सोमबारसम्म एक करोड २२ लाख ५६ हजार मतपत्र छपाइ भइसकेको छ।

छपाइ सम्पन्न भएका जिल्लामा डोल्पा, मुगु, जुम्ला, कालीकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम (पश्चिम), सल्यान, सुर्खेत, बाजुरा, अछाम, बझाङ, डोटी, डडेल्धुरा, दार्चुला, बैतडी, कैलाली, कञ्चनपुर, पाँचथर, इलाम, तेह्रथुम, भोजपुर, ओखलढुङ्गा, सुनसरी, ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, खोटाङ, धनकुटा, बागलुङ, गुल्मी, झापा, गोरखा, म्याग्दी, पर्वत, बर्दघाट सुस्ता पश्चिम (नवलपरासी), मोरङ, उदयपुर, मुस्ताङ, लमजुङ, तनहुँ, स्याङ्जा र बर्दिया रहेका छन्।

यी जिल्लाका मतपत्रको प्याकिङसमेत पूरा भइसकेको आयोगले जनाएको छ। हालसम्म १० हजार ७५९ बाकस मतपत्र प्याकिङ भइसकेको सहायक प्रवक्ता जिसीले जानकारी दिए।

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जनक शिक्षा सामग्री केन्द्र लिमिटेड, सानोठिमीमा समानुपातिक तथा प्रत्यक्ष निर्वाचन प्रणालीअन्तर्गतका मतपत्र छपाइ भइरहेको छ। आयोगका अनुसार मतपत्र छपाइ कार्य गत पुस २२ गतेदेखि सुरु भएको हो। पहिलो चरणमा १० लाख ९८ हजार २०० नमूना मतपत्र छपाइ गरी विभिन्न जिल्लामा पठाइसकिएको छ।

समानुपातिक निर्वाचन प्रणालीतर्फ गत पुस २६ गतेदेखि मतपत्र छपाइ सुरु भई माघ १३ गतेसम्म दुई करोड आठ लाख ३० हजार मतपत्र छपाइ सम्पन्न गरी प्याकिङ तथा रुजु गरी ढुवानीका लागि तयारी अवस्थामा राखिएको आयोगले जनाएको छ।

प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ दुई करोड तीन लाख २३ हजार मतपत्र छपाइ गर्नुपर्ने आयोगको योजना रहेको छ। माघ १६ गते बिहानदेखि प्रत्यक्षतर्फको मतपत्र छपाइ सुरु भइसकेको आयोगले जनाएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="