after_navbar

एक करोड ५० लाखभन्दा बढी मतपत्र छपाइ


१५ घण्टा अगाडि


काठमाडौं,२८ माघ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ५३ जिल्लाका ११७ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ।

ad

आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार हालसम्म एक करोड ५० लाखभन्दा बढी मतपत्र छपाइ भइसकेको छ। मङ्गलबारसम्म ४७ जिल्लाको मतपत्र छपाइ सम्पन्न भएकोमा आज थप छ जिल्लाको मतपत्र छपाइ सकिएको हो।

ती जिल्लाका मतपत्र प्याकिङसमेत सम्पन्न भइसकेको आयोगले जनाएको छ। हालसम्म १३ हजार ३२१ बाकस मतपत्र प्याकिङ गरिएको छ। दैनिक रूपमा करिब एक हजार बाकस मतपत्र प्याकिङ तथा १३ देखि १५ लाखसम्म मतपत्र छपाइ भइरहेको जनाइएको छ।

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जनक शिक्षा सामग्री केन्द्र लिमिटेड, सानोठिमीमा गत पुस २२ गतेदेखि मतपत्र छपाइ सुरु गरिएको हो। पहिलो चरणमा १० लाख ९८ हजार २०० नमूना मतपत्र छपाइ गरी विभिन्न जिल्लामा पठाइसकिएको आयोगले जनाएको छ।

समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ पुस २६ गतेदेखि सुरु भई माघ १३ गते दुई करोड आठ लाख ३० हजार मतपत्र छपाइ सम्पन्न भएको छ। ती मतपत्र प्याकिङ तथा रुजु गरी ढुवानीका लागि तयारी अवस्थामा राखिएको आयोगले जनाएको छ।

प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ दुई करोड तीन लाख २३ हजार मतपत्र छाप्नुपर्ने आयोगको योजना रहेको छ। माघ १६ गते बिहानदेखि प्रत्यक्षतर्फको मतपत्र छपाइ सुरु गरिएको हो।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="