after_navbar

संविधान संशोधन अपरिहार्य : उपेन्द्र यादव


१३ घण्टा अगाडि


काठमाडौं,१ फागुन । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा विद्यमान राजनीतिक समस्याको समाधानका लागि संविधान संशोधन अपरिहार्य रहेको बताएका छन्।

ad

शुक्रबार पार्टीको चुनावी घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रममा बोल्दै उनले वर्तमान संविधान पुनरावलोकन नगरेसम्म संघीयता सुदृढ हुन नसक्ने दाबी गरे। प्रदेश र स्थानीय तहका अधिकार संकुचित गरिएकाले संघीय संरचना कमजोर बनेको उनको भनाइ थियो।

अध्यक्ष यादवका अनुसार संघीयताको मर्मअनुसार प्रदेश र स्थानीय तहका अधिकारको सूची अधुरो, अपुरो र कतिपय अवस्थामा विरोधाभासपूर्ण छ। प्रदेशहरूको पुनर्संरचना आफ्नो पार्टीको मुख्य एजेन्डा रहेको उल्लेख गर्दै उनले सबै क्षेत्रमा समावेशी सहभागिता अझै सुनिश्चित हुन नसकेको बताए।

राज्यका निकायहरूमा आंशिक समावेशिता देखिए पनि जनसंख्याको आधारमा प्रतिनिधित्व हुन नसकेको उनको तर्क छ। उनले नेपालको संसदीय प्रणाली असफल भइसकेको जिकिर गर्दै वर्तमान निर्वाचन प्रणाली अत्यधिक खर्चिलो भएको टिप्पणी गरे।

“संविधान संशोधनको आवश्यकता हामी संविधान बनेदेखि नै उठाउँदै आएका छौँ। वर्तमान राजनीतिक समस्याहरूको समाधानका लागि संविधान पुनरावलोकन आवश्यक छ,” अध्यक्ष यादवले भने।

उनले संघीय शासन प्रणाली लागू भए पनि न्याय प्रणाली अझै केन्द्रीकृत ढाँचामै सीमित रहेको बताए। त्यसका कारण प्रदेश र स्थानीय तह अधिकारविहीन बनेको उल्लेख गर्दै यी समस्याको समाधानका लागि संविधान संशोधन जरुरी रहेको उनको भनाइ थियो।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="