काठमाडौं,४ फागुन । नेपाल विद्युत प्राधिकरणले प्रविधिमैत्री सेवा प्रवाहलाई प्रभावकारी बनाउने लक्ष्यसहित ‘एनइए एआई साथी’ प्रणाली (एप) ल्याउने तयारी गरेको छ। संस्थालाई प्रविधिमैत्री, सरल, सक्षम र भविष्यउन्मुख बनाउने दीर्घकालीन रणनीतिअनुसार उक्त एप प्रयोगमा ल्याउन लागिएको प्राधिकरणले जनाएको छ।
कृत्रिम बुद्धिमत्ता (एआई)लाई जटिल प्रविधिका रूपमा नभई संस्थागत ‘सहयोगी साथी’का रूपमा आत्मसात गर्ने अवधारणासहित यो प्रणाली विकास गरिएको हो। सोही उद्देश्यले प्राधिकरणले ‘ह्याकाथन इभेन्ट–२०८२’ आयोजना गरेको जानकारी दिएको छ।
प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले एआईलाई आवश्यक पर्दा सम्झिने र सहयोग लिने साथीका रूपमा स्थापित गर्ने सोचका साथ कार्यक्रम अघि बढाइएको बताए। उनका अनुसार ‘एआई साथी’ नाम आफैंमा जनमैत्री अवधारणा हो, जसले प्रविधिलाई सहज र प्रयोगमैत्री बनाउने लक्ष्य राखेको छ।
‘ह्याकाथन’मा संस्थाभित्रकै कर्मचारीबाट २७ वटा प्रस्ताव प्रस्तुत भएका थिए। ती प्रस्ताव ग्राहक सेवा सुधार, प्रशासनिक कार्यप्रवाह सरलीकरण, डेटा विश्लेषण, नीतिगत तथा कानुनी सहजीकरणलगायत विषयमा केन्द्रित रहेका छन्। प्रस्तुतीकरणपछि विस्तृत मूल्यांकन गरी उत्कृष्ट तथा व्यवहारिक अवधारणालाई कार्यान्वयनमा लैजाने तयारी गरिएको प्राधिकरणले जनाएको छ।
प्राधिकरणले प्रारम्भिक चरणमा ‘एआई साथी’लाई ग्राहक सेवा र सूचना प्रवाहमा केन्द्रित गर्ने योजना बनाएको छ। विस्तारै प्राविधिक विश्लेषण, लोड व्यवस्थापन, पूर्वानुमान तथा डेटा–आधारित निर्णय प्रक्रियासम्म प्रणाली विस्तार गरिने बताइएको छ। सार्वजनिक निकायमध्ये यो एआई प्रयोगको प्रारम्भिक प्रयास हुन सक्ने प्राधिकरणको दाबी छ
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस