काठमाडौं,५ फागुन । रामचन्द्र पौडेलले आसन्न प्रतिनिधिसभा निर्वाचनलाई सफल बनाउन सबैलाई आह्वान गरेका छन्। ग्याल्पो ल्होछारका अवसरमा नेपाल शेर्पा संघ संघीय कार्यसमितिले मंगलबार शीतल निवासमा आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा राष्ट्रपति पौडेलले लोकतन्त्रमा जनताको अभिमत लिने उपयुक्त माध्यम निर्वाचन नै भएको उल्लेख गर्दै फागुन २१ गते हुने निर्वाचनलाई सफल बनाउन सबैमा आग्रह गरेका हुन्।
राष्ट्रपति पौडेलले नेपालको मौलिक चाडपर्वले आपसी सद्भाव, एकता, मित्रता र भ्रातृत्व अभिवृद्धिमा महत्त्वपूर्ण योगदान दिँदै आएको धारणा राखे। मौलिक नेपाली पहिचानलाई अक्षुण्ण राख्दै राष्ट्रिय एकताको भावनालाई सुदृढ बनाउनु सबैको साझा दायित्व भएको उनले बताए।
उनले सुशासनमार्फत समृद्धि हासिल गर्न सके मात्रै मुलुकमा शान्ति, स्थायित्व र राष्ट्रिय एकता अझ सुदृढ हुने उल्लेख गरे। हिमाल, पहाड र तराईको अनुपम भौगोलिक विविधता भएको नेपालमा आफ्नै विशिष्ट परम्परा, संस्कृति, सभ्यता र पहिचान बोकेको शेर्पा समुदायले नेपाल र नेपालीको शान, गौरव र प्रतिष्ठा बढाउन महत्त्वपूर्ण योगदान गरेको उनले बताए।
शताब्दीयौँदेखि नेपालको हिमाली क्षेत्रबाट फैलिएको शेर्पा समुदाय विश्वभर फैलिएर आफ्नो समुदाय मात्र नभई नेपाल र नेपालीको प्रतिष्ठा अभिवृद्धिमा उल्लेखनीय भूमिका निर्वाह गरिरहेको विषय खुशीको भएको राष्ट्रपति पौडेलले उल्लेख गरे।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस