after_navbar

सञ्चार क्षेत्रको सुदृढीकरण र नीति कार्यान्वयनमा जोड


घण्टा अगाडि


दाङ,५ फागुन । सञ्चार क्षेत्रको सुदृढीकरण र नीतिगत सुधारका लागि बनेका नीतिहरूको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा तुलसीपुर क्षेत्रका पत्रकारहरूले जोड दिएका छन्। आसन्न प्रतिनिधिसभा निर्वाचनको सन्दर्भमा दाङ निर्वाचन क्षेत्र नम्बर ३ बाट घनश्याम पाण्डेसँग गरिएको पत्रकार भेटघाट तथा सुझाव संकलन कार्यक्रममा तुलसीपुर क्षेत्रमा क्रियाशील पत्रकारहरूले यस्तो धारणा राखेका हुन्।

ad

कार्यक्रम प्रेस चौतारी नेपाल दाङको आयोजनामा सम्पन्न भएको हो। कार्यक्रममा पत्रकारहरूले तीनै तहका सरकारबीच प्रभावकारी समन्वय, आमसञ्चार प्रतिष्ठान स्थापना, सञ्चारकर्मीहरूको क्षमता विकास, महिलामैत्री कार्य वातावरण, साना तथा सामुदायिक मिडियाको संरक्षण र बनेका नीतिको पूर्ण कार्यान्वयनमा विशेष जोड दिएका थिए।

नेकपा एमाले निर्वाचन क्षेत्र नम्बर ३ प्रचारप्रसार समितिका संयोजक ओपेन्द्र बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पत्रकारहरूले दिएका सुझावप्रति प्रतिक्रिया दिँदै उम्मेदवार पाण्डेले संविधानलाई आधार मानेर जनताको मूलभूत विषयमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे। सञ्चार क्षेत्र लोकतन्त्रको मेरुदण्ड भएको उल्लेख गर्दै उनले नीति निर्माणसँगै त्यसको प्रभावकारी कार्यान्वयनमा आफू गम्भीर रहने बताए।

उनले प्रेस स्वतन्त्रता, सञ्चारकर्मीहरूको व्यावसायिक सुरक्षा तथा सञ्चार क्षेत्रको सुदृढीकरणका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता जनाए। संघीय संरचना अनुरूप बनेका नीतिहरू कार्यान्वयन नहुनु कमजोरी भएको स्वीकार गर्दै त्यसलाई सुधार गर्न पहल गर्ने आश्वासन दिए।

कार्यक्रममा नेपाल प्रेस युनियनकी केन्द्रीय सदस्य नारायणी रजौरेले महिलामैत्री सञ्चार क्षेत्र निर्माणका लागि स्पष्ट नीतिगत व्यवस्था आवश्यक रहेको बताइन्। सञ्चार क्षेत्रमा महिलाको सहभागिता र नेतृत्व विकास सुनिश्चित गर्न राज्यको ठोस पहल अपरिहार्य रहेको उनको भनाइ थियो।

नेपाल प्रेस युनियन दाङका पूर्व अध्यक्ष सुशील बस्नेतले सञ्चार क्षेत्रलाई सुदृढ बनाउन स्थानीय, प्रदेश र संघीय सरकारबीच समन्वय आवश्यक रहेको बताए। उनले आमसञ्चार प्रतिष्ठान स्थापना गर्नुपर्ने सुझाव दिँदै यसले संघीयता कार्यान्वयनमा टेवा पुग्ने उल्लेख गरे। साथै, लुम्बिनी प्रदेश मा निर्माण गरिएका सञ्चारसम्बन्धी नीतिहरू पूर्ण रूपमा कार्यान्वयन नभएको भन्दै त्यसतर्फ ध्यान दिन आग्रह गरे। निर्वाचित भएपछि नीति निर्माणसँगै त्यसको कार्यान्वयन सुनिश्चित गर्न उनले सुझाव दिए।

पत्रकार सुरेशसुमन डाँगीले स्वार्थकेन्द्रित तथा अव्यवस्थित रूपमा सञ्चालन भइरहेका मिडियाको प्रभावकारी नियमन आवश्यक रहेको धारणा राखे।


पत्रकार दीपक बोहराले स्वरोजगार बन्न चाहने साना तथा स्थानीय मिडियाका लागि स्पष्ट एजेन्डा र संरक्षण नीति आवश्यक रहेको बताए। पत्रकार बसन्त पौडेलले सामुदायिक रेडियोको दीगो विकासका लागि नीतिगत तथा संरचनागत सुधार गर्नुपर्नेमा जोड दिए।

यसैगरी, पत्रकार यज्ञबहादुर बुढाले तथ्यमा आधारित विकास योजना अघि सार्दै ती योजना जनताको दैनिक जीवनसँग प्रत्यक्ष जोडिने गरी कार्यान्वयन गर्न आग्रह गरे। पत्रकार सागर सुवेदीले सार्वजनिक सरोकारका विषयमा राजनीतिक नेतृत्व कत्तिको संवेदनशील हुन्छ भन्ने विषयमा स्पष्ट धारणा माग गरे।

कार्यक्रममा तुलसीपुर क्षेत्रका विभिन्न सञ्चारमाध्यममा आबद्ध पत्रकारहरूको सहभागिता रहेको थियो। प्रेस चौतारी दाङकी अध्यक्ष सुधा सुमन ढकालले कार्यक्रमको उद्देश्यबारे जानकारी गराएकी थिइन् भने सहजीकरण प्रेस चौतारी तुलसीपुर नगरका सचिव बसन्त परियारले गरेका थिए।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="