काठमाडौँ, ७ फागुन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आगामी निर्वाचनलाई लक्षित गर्दै आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। काठमाडौँमा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्ने लक्ष्यसहित ‘एमालेले बनाउँछ’ भन्ने मूल नारामा घोषणापत्र सार्वजनिक गरेका हुन्।
घोषणापत्रमा आगामी पाँच वर्षभित्र मुलुकको अर्थतन्त्रको आकार एक सय खर्ब रुपैयाँ र दस वर्षभित्र दुई सय खर्ब रुपैयाँ पुर्याउने महत्वाकांक्षी लक्ष्य उल्लेख गरिएको छ। साथै पाँच वर्षमै प्रतिव्यक्ति आय तीन हजार अमेरिकी डलरसम्म पुर्याउने प्रतिबद्धता गरिएको छ।
सरकार गठनलगत्तै कार्यान्वयनमा ल्याइने ११ वटा ‘ग्यारेन्टी कार्यक्रम’ अघि सार्दै एमालेले १८ देखि २८ वर्ष उमेर समूहका युवालाई वार्षिक १० जीबी निःशुल्क डाटा उपलब्ध गराउने योजना सार्वजनिक गरेको छ। स्टार्टअप व्यवसाय सुरु गर्ने युवालाई १० हजार अमेरिकी डलर बराबरको ‘डलर कार्ड’ सुविधा दिने तथा उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीलाई २० लाख रुपैयाँसम्म निर्ब्याजी ऋण उपलब्ध गराउने प्रतिबद्धता पनि गरिएको छ।
त्यसैगरी न्यूनतम मासिक पारिश्रमिक २५ हजार रुपैयाँ पुर्याउने र वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई वार्षिक पाँच हजार रुपैयाँ बोनस उपलब्ध गराउने योजना घोषणापत्रमा समेटिएको छ।
पूर्वाधार विकासतर्फ पूर्व–पश्चिम विद्युतीय रेलमार्ग निर्माण, विभिन्न सुरुङ मार्ग विस्तार तथा ठूला सहरमा मेट्रो र मोनोरेल सञ्चालन गर्ने कार्यक्रमलाई पुनः प्राथमिकतासहित अघि सारिएको छ।
घोषणापत्रमा राजनीतिक स्थिरता, सुशासन प्रवर्द्धन र असंलग्न परराष्ट्र नीतिलाई मुख्य प्राथमिकताका रूपमा उल्लेख गर्दै समृद्ध राष्ट्र निर्माणतर्फ केन्द्रित हुने प्रतिबद्धता व्यक्त गरिएको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस