काठमाडौं,८ फागुन। प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिट निवेदनमा सर्वोच्च अदालतले फागुन २२ गतेका लागि साधारण तारेख दिएको छ।
रिटकर्तामध्येका अधिवक्ता कृतिनाथ शर्मा पौडेलले चुनावको भोलिपल्ट साधारण तारेख पाएको जानकारी दिएका छन्।
यसअघि कात्तिक १२ गते संवैधानिक इजलासले १६ वटा रिट निवेदनमाथि सुनुवाइ गर्दै बाटोको म्याद बाहेक सात दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको थियो। त्यसपछि नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद र नेपाली काँग्रेसले छुट्टाछुट्टै रिट दायर गरेका थिए।
उनीहरूले दायर गरेको रिटमा विपक्षीहरूसँग लिखित जवाफ मागिएको थियो। सबै रिटमा विपक्षीबाट लिखित जवाफ पेस भए पनि अदालतले हालसम्म साधारण तारेख मात्रै दिएको छ। यसबीच प्रारम्भिक सुनुवाइ मात्र भएको छ भने थप सुनुवाइ कहिले हुने भन्नेबारे टुंगो लागेको छैन।
रिटमा प्रतिनिधिसभा विघटन असंवैधानिक भएको तथा वर्तमान प्रधानमन्त्री सुशीला कार्कीलाई असंवैधानिक रूपमा पदमा नियुक्त गरिएको दाबी गर्दै राष्ट्रपतिबाट गरिएको निर्णय बदर गर्न माग गरिएको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस